काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५५औं वार्षिक साधारण सभाले राष्ट्रिय आर्थिक रूपान्तरण २०३० पुस्तक (भिजन पेपर) सार्वजनिक गरेको छ। महासंघको वर्तमान नेतृत्वले अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित भिजन पेपर तयार पारेर सार्वजनिक गरेको हो।
भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको पुर्याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।
यी लक्ष्य पूरा गर्नका लागि १५० अर्ब लगानी आवश्यक रहनेमा निजी क्षेत्रबाट १०८ अर्ब डलर लगानी हुने भिजन पेपरमा उल्लेख छ। महासंघले १० वर्षका लागि तयार पारेका १०० योजनामध्ये आगामी २ वर्षभित्र ४० वटा योजना कार्यान्वयन गरिसक्ने लक्ष राखिएको छ।
उद्घाटन शत्रमा महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीमैत्री वातावरण बनाउनका लागि एक दर्जन बढी मौजुदा ऐन कानुनहरू संधोधन गरिनुपर्ने बताए। त्यस्तै, कोरोना महामारीका कारण १ वर्ष सुस्ताएको अर्थतन्त्र चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सुध्रिएको संकेत देखिएको र यसले राजश्व संकलन लक्ष्यमा उल्लेख्य प्रगतl भएको पनि गोल्छाले बताए।
महासंघको यस वर्षको वार्षिक साधारण सभाको नारा ‘समृद्धिका लागि सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल’ रहेको छ भने भिजन पेपरको कार्यान्वयनमा महासंघले वार्षिक साधारण सभामा नेपाल सरकारको प्रतिवद्धता समेत लिनेछ। महासंघको बन्दशत्र कार्यक्रम आइतबारका लागि तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।