न्यूयाेर्क- अमेरिकाको टेक्सस राज्यमा बन्दुकधारीले गाेली चलाउँदा एक जनाकाे मृत्यु भएकाे छ। घटनामा अन्य ६ जना घाइते भएका छन्।
ब्रायन सहरको औद्योगिक पार्कमा बसिरहेका माथि बिहीबार स्थानीय समय अनुसार दिउँसो २: ३० बजे गाेली प्रहार भएकाे हाे। सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीले घटनाका आरोपितलाई हिरासतमा लिएको छ। तर, घटनाको कारण खुलेकाे छैन।
यता राष्ट्रपति जो वाइडेनले अमेरिकामा लगातार भइरहेकाे गोलीबारीकाे घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। 'देशमा बन्दुक हिंसा महामारी जत्तिकै छ। यसलाई रोक्न प्रत्येक सम्भावित कदम चाल्नेछाैं,' उनले भनेका छन्।
गत हप्ता अप्रिल ३ मा गोलीबारीको कारण वासिङ्टन डीसीमा कर्फ्यू लगाइएकाे थियाे। यस घटनाको क्रममा क्यापिटल हिल क्षेत्रमा दुई प्रहरी अधिकारीहरू पनि गाडीले ठक्कर दिएकाे थियाे जसमा एक मारिए।
कारको टक्करपछि प्रहरीले क्यापिटल परिसरको ब्यारेकेडमा गोली चलाएकाे थियाे, जसमा एक जना संदिग्ध मारिएका थिए।
बिहीबार मात्रै दक्षिणी क्यारोलिनामा एक बन्दुकधारीले डाक्टर र उनका नातिनातिनासहित पाँच व्यक्तिको हत्या गरिएकाे थियाे। घटनामा एक जना गम्भीर घाइते भएका छन्।
यस्तै कोलोराडोमा केही दिन अगाडि मात्रै १० जनाको हत्या भएकाे थियाे। यता एटलान्टामा ९ जनाको हत्या भएकाे थियाे।
अमेरिकी सरकारको रिपोर्टका अनुसार यस वर्षको गोलीबारीमा ४५५ जना मारिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।