पेरिस- फ्रान्सेली सांसदले हिजाबमाथि प्रतिबन्ध लगाउने कानुनमा मतदान गरेसँगै मुस्लिम समुदाय विरोधमा उत्रिएका छन्।
३० मार्चमा प्रस्तावित कानुनमा बहस गर्दै सांसदहरुले ‘कुनै पहिरन वा कपडाले सार्वजनिक स्थानमा पुरुष र महिलालाई होच्याउने गरी प्रदर्शन गर्ने साम्रगीहरुविरुद्ध प्रतिबन्ध लगाउनु’ भन्ने विधेयकलाई अनुमोदन गरेका थिए।
यस प्रस्तावमा सार्वजनिक स्थानमा १८ वर्षभन्दा कम उमेरका युवतीहरुले हिजाब लगाउन पाउने छैनन्। यसका साथै सार्वजनिक स्थानमा स्पष्ट धार्मिक प्रतिक झल्काउने कुनै पनि कपडा लगाउन प्रतिबन्धित गरिएको छ।
यो प्रस्ताव पृथकीकरण विधेयकको एक हिस्सा हो। यो अहिलेसम्म लागू भएको छैन। यसलाई कार्यान्वयन गर्नका लागि पहिले राष्ट्रिय सभाबाट अनुमोदन गर्नुपर्छ।
यसविरुद्ध मुस्लिम समूदायले सामाजिक सञ्जालमा #हान्ड्स अफ माई हिजाब टेन्ड चलाएका छन्। फ्रान्सले धर्मनिरपेक्ष प्रणालीलाई सशक्त पार्ने लक्ष्य राखेको छ तर, आलोचकहरूले यो कदमविरुद्ध आलोचना गर्दै आएका छन्। यसले अल्पसंख्यक मुस्लिम जनसंख्यालाई एक्लाउन खोजेको बताइन्छ।
एक महिना अगाडि स्विजरल्याण्डका सांसदहरुले पनि बुर्का र मास्क प्रतिबन्ध लगाउन संसदमा मतदान गरेका थिए। फ्रान्सको मुस्लिम समुदायको जनसंख्या करिब ५४ लाख छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भनिसकेका छन्,‘हिजाब फ्रान्सको धर्मनिरपेक्ष आदर्शसँग मेल खाँदैन। हिजाब लगाएर सडकमा हिँड्न निषेधित कानुन बनाइनेछ।’
आश्चर्यजनक कुरा के छ भने फ्रान्समा शारीरिक सम्बन्धका लागि न्यूनतम सहमतिको उमेर १५ वर्ष हुनका लागि अनुमति दिने प्रस्ताव हालसालै पारित भएको छ। यस्तो अवस्थामा यदि हिजाब लगाउन प्रतिबन्धको प्रस्ताव कानुन बन्न पुग्छ भने हिजाब लगाउनको लागि न्यूनतम १८ वर्ष पुग्नुपर्छ।
फ्रान्सको हिजाब सम्बन्धी प्रस्तावप्रति विश्वभरका मुस्लिम समुदायले सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।