लण्डन- बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। ९९ वर्षको उमेरमा उनकाे शुक्रबार बिहान विन्डसर क्यासलमा निधन भएकाे हाे।
‘गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन्,’ बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गत महिना ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए। एलिजावेथ गद्दीमा बस्नुभन्दा पाँच वर्षअघि सन् १९४७ मा फिलिपले उनीसँग विवाह गरेका थिए। उनीहरुका चार सन्तान जन्मिएका थिए भने ८ नातिनातिना र १० पनातिपनातिनी जन्मेका थिए।
उनीहरूका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका थिए। त्यसपछि राजकुमारी एन् सन् १९५० जन्मेकी थिइन्, ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए र अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मेका थिए।
प्रिन्स फिलिप ग्रीसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा जन्मिएका थिए। उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा थिए।
राजकुमार फिलिप १९२१ मा ग्रिसमा जन्मेका थिए। उनी १८ महिनाको छँदै उनको परिवार ग्रिसबाट विस्थापित भएको थियो। पछि उनी बेलायती नौसेनामा भर्ती भए। दोस्रो विश्वयुद्धकै क्रममा उनले राजकुमारी एलिजाबेथलाई भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।