वासिङ्टन डीसी- नागरिक स्वतन्त्रता संस्था र मुस्लिम वकिलहरूले सामाजिक सञ्जाल फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन्। मुस्लिम समुदाय विरोधी घृणायुक्त अभिव्यक्तिलाई नियमन गर्न नसकेको भन्दै फेसबुक र यसको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको हो।
फेसबुकका सीईओ मार्क जुकरबर्ग, सीओओ सेरिल स्याण्डबर्ग र अन्य अधिकारीहरूले ‘कम्पनीले आफ्नो मापदण्ड र अभ्यासहरू उल्लंघन गर्ने सामग्री हटाउँछ’ भन्ने झूटो प्रचार गरिरहेको उनीहरुको आरोप छ।
‘यो असफलताले मुस्लिममाथि घृणा फैलाउने प्रयोगकर्ताहरूको मात्रा बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ। यता फेसबुकले भने यस्ता शब्दलाई स्थान नदिएको स्पष्टीकरण दिएको छ।
‘हामी हाम्रो प्लेटफर्ममा घृणायुक्त अभिव्यक्ति राख्न अनुमति दिँदैनौं र हामी विशेषज्ञहरू, गैर नाफामुखी र सरोकारवालाहरूसँग नियमित रूपमा काम गर्दछौं ताकि फेसबुक सबैका लागि सुरक्षित स्थान होस्,’ फेसबुकका प्रवक्ताले द हिन्दूलाई भने।
गत वर्ष सेप्टेम्बरको अन्त्यमा फेसबुकले २२ करोड घृणायुक्त अभिव्यक्ति दिने एकाउन्ट हटाएको थियो। ‘फेसबुकबाट हटाइएको ९७ प्रतिशत सामग्रीको सक्रिय रूपमा पत्ता लगाउन कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणहरूसमेत प्रयोग गरिएको छ,’ क्यालिफोर्नियास्थित कम्पनीले भनेको छ।
नागरिक अधिकार समूहले फेसबुकमा मुस्लिम विरोधी गतिविधि बढेको भन्दै सन् २०१७ देखि उजुरी दिँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।