काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शितल निवासमा वितरण गरेको मानपदवीमा सरकारले सार्वजनिक गरेको नयाँ 'चुच्चे नक्सा' नराखिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना शुरु भएको छ।
राष्ट्रपति भण्डारीले शुक्रबार राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरूलाई विभिन्न मापपदवी, अलङकार र पदक वितरण गरेकी थिइन्। सरकारबाट पाएको पदकसहित तस्वीर सामाजिक सञ्जालमा राखिएपछि आलोचना पनि शुरु भएको हो।
भारतले नेपालको भूभाग मिचेर नक्सा जारी गरेपछि आफ्नो भूभाग समेट्दै सरकारले नयाँ नक्सा संसद्बाट पारित गरेको थियो। संसद्बाट पारित गरिएको नक्सा अनुसारको लोगो र निसाना छाप पनि परिर्वतन गरिएको छ। नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको थियो। तर, शुक्रबार वितरण भएको पदकमा नयाँ नक्सा नदेखिएपछि सामाजिक सञ्जालमा ‘चुच्चे नक्सा खै ?’ भन्ने प्रश्न उठेको छ।
नयाँ नक्सा समावेश नभएकोमा गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने गल्ती नभई पोहोरकै पदक वितरण भएकाले यस्तो भएको बताए। ‘यो पोहोर सालकै पदक हो। कोरोनाका कारण यस पटक वितरण गरिएको हो’, उनले भने, ‘पहिल्यै छापिएर आइसकेकाले फेर्न मिलेन,अहिले वितरण मात्र गरिएको हो।’ यो पदक २०७६ सालमा घोषणा गरिएको उनले बताए।
उनले पदक लिन बाँकी रहेकाहरूलाई वैशाख १ गते नयाँ नक्सासहितको पदक प्रदान गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।