काठमाडौं–नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। हालसम्म अधिकांश जिल्ला शाखाको परिणाम आइसकेको छ। केन्द्रको परिणम शनिबारसम्म आइसक्ने बताइएको छ।
थोरै मतदाता भएका अधिकांश शाखाको मत परिणाम आइसकेको बताउँदै निर्वाचन समितिले शाखाबाट परिणाम आउने क्रम जारी रहेको जनाएको छ।
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एशोसियटमा मतदान भएको थियो।
अधिकांश जिल्ला शाखाको मत परिणाम आइसके पनि केन्द्र र प्रतिष्ठानको मतगणना जारी छ। पछिल्लो विवरण अनुसार केन्द्रको २ हजारभन्दा कम मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
प्रत्यक्ष प्रणालीबाट भएको पत्रकार महासंघको निर्वाचनमा देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले भोट हालेका छन्।
तीन वर्ष कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठन सँगको गठबन्धनमा विपुल पोख्रेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए। त्यस्तै गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्ष पदमा चुनाव लडेका थिए।
हालसम्म आएको परिणाममध्ये अधिकांश क्षेत्रमा विपुल पोख्रेल नेतृत्वको गठबन्धन अगाडि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।