क्यारोलिना- अमेरिकाकाे दक्षिणी क्यारोलिनामा एक बन्दुकधारीले डाक्टर र उनका नातिनातिनासहित पाँच व्यक्तिको हत्या गरेका छन्। घटनामा एक जना गम्भीर घाइते भएका छन्।
स्थानिय प्रहरीका अनुसार रकहिल भएकाे घटनामा ७० वर्षीय डा रोबर्ट लेस्लाई, ६९ वर्षीया बारबरा लेस्लाई र २ जना नातिनातिनाहरु मारिएका हुन्। मारिने बालबालिका ५ र ९ वर्षका रहेको जनाइएको छ।
उनीहरुकै घरमा काम गर्ने ३८ वर्षीय जेम्स लुइस पनि मृत भेटिएकाे जनाइएकाे छ। परिचय नखुलाइएका छैठौं व्यक्तिलाई भने अस्पतालमा भर्ना गरिएको छ।
गोली चलाउने व्यक्ति नजिकैको घरमा फेला परेको प्रहरीले जनाएको छ। एपी र एक स्थानीय मिडियाले बन्दुकधारी पूर्वएनएफएल प्लेयर फिलिप एडम्स रहेकाे उल्लेख गरेकाे छ। उनले आत्महत्या गरेकाे बताइन्छ।
एडम्सको परिवार पीडितहरूसँग नजिक रहेका छन् र डा लेस्लीले पहिले उनकाे उपचार गरेका थिए।
'प्रहरीले घर घेरेपछि एडम्सले आफ्नै ज्यान लिए, ' प्रहरीलाई उद्धृत गर्दै समाचार लेखिएकाे छ। यद्यपि के कारणले उनले गोली चलाएको हो भन्नेबारे केही खुलेको छैन।
अमेरिकाकाे कोलोराडोमा केही दिन अगाडि मात्रै १० जनाको हत्या भएकाे थियाे। यस्तै एटलान्टामा ९ जनाको हत्या भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।