लण्डन- बेलायतको औषधि नियामक संस्था एमएचआरएले एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप ३० वर्षमुनिका व्यक्तिलाई नलगाउन आदेश दिएकाे छ। एस्ट्राजेनेकाको खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएसँगै यस्तो निर्णय गरिएको हो।
३० वर्षमुनिका व्यक्तिहरुलाई खोपको अन्य विकल्प दिइने एमएचआरएले जनाएकाे छ। मार्चको अन्तिमसम्ममा बेलायतमा एस्ट्राजेनेकाको खोप दिएकामध्ये ७९ जनामा रगत जम्ने समस्या देखिएको थियो भने १९ जनाको मृत्यु भएको थियो।
यद्यपि, एस्ट्राजेनेकाको खोपको कारण रगत जम्ने समस्या उत्पन्न हुने पुष्टि भइसकेको छैन। यता इटालीले पनि एस्ट्राजेनेकाको खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउन सुझाव दिएको छ।
‘यो खोपमा समस्या देखिएको छ। यसैले ६० वर्षभन्दा माथिकालाई यो खोप प्रयोग गर्न दिनुपर्छ भने ३० वर्षभन्दा कम उमेरका व्यक्तिले वैकल्पिक लिनुपर्दछ,’ इटालीका स्वास्थ्य अधिकारीहरुले भनेका छन्।
इटालीको स्वास्थ्य अधिकारीले यो खोप ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई मात्र प्रयोग गर्न सिफारिस गरेको छ। तर, ६० वर्षभन्दा कम उमेरकाले जसलाई पहिलो एस्ट्राजेनेका डोज लिएका छन् उनीहरूले दोस्रो डोज लिन सक्दछन्।
रगत जम्ने देखिएकामध्ये करिब दुई तिहाइ महिला छन्। मृत्यु हुनेमा १८ देखि ७९ वर्षका व्यक्तिहरु छन्। वैज्ञानिकहरुले अझै पनि रगत जम्ने समस्याको खोपसँगको सम्बन्धको विषयमा अनुसन्धान गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।