रंगुन- म्यानमारको उत्तरपश्चिमी सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएकाे झडपमा कम्तिमा ११ जना मारिएका छन्। म्यानमारको उत्तरपश्चिमी सहर ताजेमा बिहीबार प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि हाते बन्दुक र पेट्रोल बमले प्रहार गरेपछि झडप भएकाे हाे।
स्थानीय सञ्चार माध्यमका म्यानमार नाउ र इरावाड्डीका अनुसार ताजे सहरमा प्रदर्शन रोक्न छवटा ट्रकलोड फोर्स तैनाथ गरिएको थियाे। साे आक्रमणपछि थप पाँचवटा ट्रकभरि सेना ल्याइएकाे समाचारमा जनाइएकाे छ। उक्त झडपमा गोली लागेर थप २० प्रदर्शनकारी घाइते भएका छन् भने सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे केही बताइएको छैन ।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली, ग्रिनेड र मेसिनगनको प्रयोग गरिरहेका छन्। यसका साथै म्यानमारको प्रदर्शनमा सहभागीहरुले आफ्नो सुरक्षा आफैंले गर्ने प्रयास गर्न थालेको छन्।
यसअघि बुधबार पनि म्यानमारमा १२ प्रदर्शनकारी मारिएका थिए। याेसँगै जारी प्रदर्शनमा ज्यान गुमाउनेकाे संख्या ६ सय नाघेकाे एएपीपीले जनाएकाे छ।
यद्यपि, सेना पक्षमा कति जना घाइते भए खुल्न सकेकाे छैन। यता देशकै सबैभन्दा ठूलो सहर रंगुनमा प्रजातन्त्र पक्षधरहरुले मारिएका आफ्ना कार्यकर्ताहरुकाे सम्झनामा फूलले भरिएका जुत्ताहरू बनाए।
यस्तै म्यानमारको जुन्ता सरकारले सैनिक विद्रोहको विरोध गरिरहेका १२० जनाभन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ। सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र वर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन्।
एएपीपीका अनुसार हालसम्म २८ सय ४७ जनालाई हिरासतमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।