लण्डन- बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई दूतावासमा प्रवेश गर्न रोक लगाइएको छ। अपदस्त नेतृ आङ साङ सू चीलाई रिहाइ गर्न माग गरेको भन्दै उनलाई दूतावासका कर्मचारीले प्रवेशमा रोक लगाएका हुन्।
उनी सू ची निकट मानिन्छ। उनले केहीदिन पहिलामात्रै फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक ‘कू’को विरोध गरेका गरेका थिए। दूतावासका अरू कर्मचारीहरू भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको उनले बताए। सिएनएनका अनुसार सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएको छ।
‘मलाई राजदूतावास पस्न दिइएको छैन। यो एक किसिमको कू हो त्यो पनि लन्डनको मध्यभागमा। तिनीहरूले मेरो भवन कब्जा गरेको देख्न सक्नुहुन्छ,’ उनले भने।
बेलायतको परराष्ट्र मन्त्रालयसँग यस विषयमा कुरा गरिरहेको पनि उनले बताए। बुधबार राजदूत मिनको समर्थनमा केही मानिसहरूले दूतावासअगाडि प्रदर्शनसमेत गरेका थिए।
यसअघि म्यानमारको सैनिक शासकले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई बर्खास्त गरेका थिए। राष्ट्रसंघको महासभामा सैन्य ‘कू’को विरोध गर्दै उनले तत्काल अन्तर्राष्ट्रिय कारबाही गर्न माग गरेका थिए।
फेब्रुअरी एक तारिखमा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीलगायतलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो। सैनिक ‘कू’को विरोधमा म्यानमारमा ठूला प्रदर्शनहरु हुँदै आएका छन्।
प्रजातन्त्र पुनर्वहालीका लागि भएका प्रदर्शनमा सेनाले निर्ममतापूर्वक दमन गरिरहेको छ। सैनिकको गोली लागेर अहिलेसम्म झन्डै ६ सय म्यानमारीको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।