वेलिङ्गटन- न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले भारतबाट आउने व्यक्तिलाई मुलुक प्रवेशमा अस्थायी रोक लगाउने घोषणा गरेकी छिन्। भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगेसँगै न्युजिल्याण्डले दुई साताका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
भारतका सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना संक्रमित फेला परेका छन्। याेसँगै कुल संक्रमितकाे संख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ।
यता बिहीबार न्युजिल्याण्डमा २३ नयाँ संक्रमित भेटिएका थिए, जसमध्ये १७ जना भारतबाट आएका व्यक्ति रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।प्रतिबन्धकाे यो निर्णय अप्रिल ११ बाट कार्यान्वयनमा आउनेछ र अप्रिल २८ सम्म जारी रहनेछ। उक्त प्रतिबन्ध भारतमा रहेका न्युजिल्याण्डका नागरिकको हकमा पनि लागू हुने जनाइएकाे छ।
पहिलोपटक न्युजिल्याण्डले आफ्नै नागरिकहरुलाई पनि मुलुक प्रवेशमा रोक लगाएको हो। प्रधानमन्त्री अर्डनले उक्त अवधिमा सरकारले जोखिम नियन्त्रणका अन्य उपायको खोजी गर्ने समेत बताएकी छिन्।
न्युजिल्याण्ड लकडाउनलाई कडाइको साथमा पालना गराउने र कोरोनालाई नियन्त्रणमा राख्न सफल भएको मुलुक हो। न्युजिल्याण्डमा हालसम्म २५ सय ५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। यस्तै २४ सय ३४ काेराेना संक्रमणमुक्त भएका छन् भने २६ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।