दिल्ली- दिल्ली उच्च अदालतले अनिवार्य मास्क लगाउनुपर्ने आदेश दिएको छ। कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्न कारमा एक्लै हुँदा पनि चालकले मास्क लगाउनुपर्ने भन्दै आदेश दिएको हो।
अदालतले मास्क वरपरका मानिसहरूका लागि पनि सुरक्षा कावच भएको बताएको छ। ‘तपाईं कारमा एक्लै भएपनि मास्क लगाउन किन आपत्ति जनाउनु हुन्छ? यो तपाईंको आफ्नै सुरक्षाको लागि हो,’ न्यायाधीश प्रतिभा एम सिंहले भनिन्, ‘महामारीको संकट बढेको छ, खोप लगाएका वा नलगाएका जोसुकै होस् उनीहरुले मास्क लगाउनु पर्छ।’
उनले कोराना भाइरसबाट कोही सुरक्षित नरहेको समेत बताइन्। ‘कोरोनाबाट कोही सुरक्षित छैनन्। जब एक कार ट्राफिक संकेतमा रोकिन्छ, चालकहरूले प्रायः आफ्नो विन्डोमा पल्टिन्छन्। त्यहीँबाट कोरोना संक्रमण हुन सक्छ,’ उनले भनिन्।
सुनवाईको क्रममा केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक्लो चालकले मास्क लगाउनु पर्ने कुनै नियम नभएको अदालतमा जानकारी दिएको थियो। तर, प्रत्येक राज्यलाई आफ्नो नियम बनाउने र लागू गर्ने अधिकार रहेको मन्त्रालयले जानकारी दिएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण झनै तीव्र गतिमा बढिरहेको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन्।
भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ।
तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन्। त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ। योसँगै कूल मृतकको संख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन्।
भारतमा गत जनवरी १६ देखि भारतमा खोप कार्यक्रम संचालन भएको छ। ८ करोडभन्दा बढीमा खोप लगाइसक्दा कोरोना नियन्त्रणमा आउने संकेत देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।