काठमाडाैं- सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।
कोरोना संक्रमण बढ्दै गएकाले महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको थियो।
डिसिसिएमसीकाे निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले सर्वोच्चमा रिट दायर गरेकाे थियाे।सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रामा रोक नलगाउन र सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको हाे।
जात्रा सञ्चालन गर्दा हजारौँको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउँदा हुने भीडले कोरोना संक्रमण फैलाउन सक्ने भन्दै औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको हो।
भक्तपुर नगरपालिकाले भने स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो टोलको जात्रा मनाउन आह्वान गरेको थियो। जात्रा सञ्चालनमा रथ नतान्ने निर्णय गरेपछि गुठी संस्थानले रथ निर्माणको बाँकी काम हिजोदेखि नै रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।