काठमाडौं- पेट्रोल पम्पकै मिलेमतोमा नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ। नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले भारततर्फ पेट्रोलिय पदार्थ तस्करी गरेको आरोपमा विभिन्न मितिमा गरेर १० जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
नेपालमा भन्दा भारतमा महँगोमा पेट्रोलियम पदार्थ बिक्री हुने भएपछि आयल स्टोरहरुको मिलेमतोमा चोरी निकासी भारततर्फ जाने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारतको बिहार मोतिहारी पूर्वी चम्पारण भेलाहीका ४५ वर्षीय मनोज गुप्ता, सोही ठाउँका भारतीय नागरिक ५५ वर्षीय इदरिश मियाँ, सोही ठाउँका ३० वर्षीय पिन्स साह छन्।
पर्साको जगरनाथपुर गाउँपालिका-२ का ३५ वर्षीय सागिर आलम, सोही ठाउँका ३९ वर्षीय रामानन्द राम, २० वर्षीय रविकुमार साह, ४० वर्षीय मुनी साह तेली, २२ वर्षीय जामिल गद्दी, ३८ वर्षीय राजकुमार कुर्मी र ३५ वर्षीय आश महम्द राउत गद्दी पक्राउ परेका छन्।
चैत १७ गते इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले धोबिनी गाउँपालिका-५ लंगडीस्थित इस्लाम आयल स्टोरले तस्करहरुसँग मिलेमतो गरी ८० लिटर डिजेल भारत तस्करी गर्न लागेको बेला नियन्त्रणमा लिएको थियो।
चैत २० गते पोखरीयाबाटै खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका-२ जानकी टोलबाट १६० लिटर डिजेल भारत लैजाँदै गरेको अवस्थामा बरमद गरेको थियो। उक्त डिजेल बिशमिल्लाह आयल स्टोरको मिलेमतोमा तस्करी भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी प्रल्हाद कार्कीले बताए।
सोही आयल स्टोरबाट पाँचवटा भारतीय मोटरसाइकल र एउटा नेपाली नम्बर प्लेट भएको मोटरसाइकलमार्फत ५०५ लिटर डिजेल भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद भएको थियो। त्यसबेला छ वटा मोटरसाइकल बरामद भएका थिए भने सातजना पक्राउ परेका थिए।
त्यसैगरी तिवारी आयल स्टोरको मिलेमतोमा २८० लिटर डिजेल तस्करी भइरहेको अवस्थामा तीन जना भारतीय नागरिकलाई तीन थान मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेका १० जनालाई कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ। पेट्रोलियम पदार्थको अवैध तस्करीमा संलग्न देखिएका इस्लाम आयल स्टोर, बिशमिल्लाह आयल स्टोर र तिवारी आयल स्टोरसमेतलाई आवश्यक कारबाहीका लागि भन्दै नेपाल आयल निगम २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जलाई पत्राचार गरिएको डीएसपी कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।