काठमाडाैं- अन्तर्राष्ट्रिय मुद्रा कोषले याे वर्ष विश्व अर्थतन्त्रमा सुधार हुने जनाएको छ । कोषले गत जनवरीमा गरेको अनुमान प्रक्षेपणलाई सच्याउँदै सन् २०२१ र ०२२ मा अर्थतन्त्रणमा सुधार आउने दाबी गरेकाे हाे।
कोषका अनुसार यो वर्ष विश्व अर्थतन्त्र ६ प्रतिशतले वृद्धि हुनेछ। यस्तै अर्को वर्ष ४.४ प्रतिशतले वृद्धि हुने जनाइएकाे छ। दुवै वृद्धिदर गत जनवरीमा गरेकाे प्रक्षेपणभन्दा बढी हो ।
तर, यस्तो सुधार देशहरुबीचमा खतरनाक हिसाबले फरक-फरक हुने कोषले जानकारी दिएकाे छ। आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले स्वास्थ्य र आर्थिक क्षेत्रमा देखिने गरी संकट देखिएको बताएकी छिन् । खासगरी विकासशील देशमा अघिल्ला दुई कारणले प्रभाव पारेको उनले बताइन्।
खोप अभियान कम भएका, अर्थतन्त्रलाई सीमित सहयोग हुने आर्थिक नीति ल्याएका र पर्यटनमा आश्रित अर्थतन्त्रमा भने कम सुधार हुने उनले जानकारी दिएकी छिन्।
यता अमेरिकी अर्थतन्त्रमा बलियो सुधार हुने कोषको प्रक्षेपण गरिएकाे छ। यस्तै चीन यसअघि नै महामारीअघिकै अवस्थामा फर्किसकेकाले यहाँकाे अर्थतन्त्रमा पनि सुधार आउने अपेक्षा गरिएकाे छ । तर, अन्य धेरै देश सन् २०२३ पछि मात्रै पुनरुत्थान हुने जनाइएकाे छ।
सन् २०२० देखि २०२२ सम्म प्रतिव्यक्ति आयको सञ्चित नोक्सानी यस्ता देशमा २० प्रतिशत हुनसक्नेछ रिपोर्टमा जनाइएकाे छ। विकसित संसारमा भने यस्तो दर ११ प्रतिशत हुने उल्लेख छ।
त्यस्तै आईएमएफका अनुसार गरिबीकाे संख्या बढेकाे छ। अतिगरिबको संख्या नौ करोड ५० लाखले बढेको छ । यी मध्ये आठ करोड जनसंख्या कुपोषित रहेकाे रिपाेर्टमा जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।