काठमाडाैं- प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको देशभरि रहेका पदाधिकारीहरुको सदाचारितामा प्रश्न उठाएको छ।
संघीय संसद् प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सङ्गठनको नक्सालको बाल मन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि सङ्गठनको पदाधिकारीको सदाचारितामा खोट देखाएको हो। समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल सङ्गठनको केन्द्रदेखि जिल्लास्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिँदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैंसँग चल/अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ।
बुधबार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बाल कल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताइन्।
समितिले पास गरेको प्रतिवेदनमा मुख्य गरी बाल सङ्गठनको चल/अचल सम्पत्तिको तथ्याङ्क राख्ने, दुराशयपूर्ण सम्झौताहरुलाई पुन:मुल्याङ्कन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिइएको छ। यस्तै प्रतिवेदनमा बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।