काठमाडाैं- संसारकै धनाढ्य सूचीकाे पहिलाे स्थानमा अर्बपति अमेजनका जेफ बेजोस पहिलाे स्थानमा उक्लिएका छन्। उनकाे सम्पत्ति १ खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको चर्चित म्यागजिन फोर्ब्सले जनाएकाे छ। उनकाे सम्पति एक वर्षअघिको तुलनामा ६४ अर्ब डलरले बढेकाे छ।
यता टेस्लाका प्रमुख एलन मस्क दोस्रो स्थानमा रहेका छन्। उनको सम्पत्ति १ खर्ब ५१ अर्ब डलर रहेकाे छ। गतवर्ष उनी ३१औं नम्बरमा थिए। तर, यो वर्ष टेस्लाको सेयर ७०५ प्रतिशतले बढेपछि उनी संसारकै दोस्रो ठूलो धनी बनेका हुन्।
एक वर्षअघि उनको सम्पत्ति १ खर्ब २६ अर्ब डलर थियो। तेस्रो स्थान बर्नार्ड आर्नल्ट रहेका छन्। फ्रेन्च लक्जरी सामान व्यापारी आर्नल्टको सम्पत्ति १ खर्ब ५० अर्ब डलर छ। यता चौथो स्थानमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन्। उनको सम्पत्ति १ खर्ब २४ अर्ब डलर छ।
फेसबुकका मार्क जुकरबर्गको सम्पत्ति ९७ अर्ब डलर छ। उनी सूचीमा पाँचौँ स्थानमा रहेका छन्। यस्तै बर्कशाइर हाथावेका वारेन बफेट छैठौँ स्थानमा छन्। उनको सम्पत्ति ९६ अर्ब डलर छ।
९३ अर्ब डलर सम्पत्तिका मालिक ल्यारी एलिसन सातौँ स्थानमा छन्। उनी सफ्टवेयरका मालिक हुन्। गुगल प्रमुख ल्यारी पेज ९१ अर्ब डलरसहित आठौँ स्थानमा रहेका छन् भने गुगलकै सर्जे ब्रिन ८९ अर्ब डलरसहित नवौं स्थानमा छन्।
यता भारतीय अर्बपति मुकेश अम्बानी १० धनीभित्र अटाएका छन्। उनी ८४ अर्ब ५ करोड डलरसहित १०औं स्थानमा पुगेका हुन्। नेपालका एक्ला अर्बपति विनाेद चौधरी २१४१ औं नम्बरमा रहेका छन्। फोर्ब्सका अनुसार अप्रिल ६ सम्म उनको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ।
सन् २०१३ मा सीजी कर्प ग्लोबलका प्रमुख चौधरीको सम्पत्ति १ अर्ब डलर थियो। त्यसपछि क्रमशः सन् २०१४ मा १ अर्ब १० करोड, सन् २०१५ मा १ अर्ब ३० करोड, सन् २०१६ मा १ अर्ब १० करोड, सन् २०१७ मा १ अर्ब ३० करोड, सन् २०१८ मा १ अर्ब ५० करोड, सन् २०१९ मा १ अर्ब ७० करोड, सन् २०२० मा १ अर्ब ४० करोड र सन् २०२१ (अप्रिलसम्म) मा १ अर्ब ४० करोड डलर रहेको फोर्ब्सले जनाएको छ।
यसैबीच, फोर्ब्सको सूचीमा संसारभर दुई हजार सात सय ५५ जना अर्बपति रहेका छन्। एक वर्षअघिभन्दा यो ६ सय ६० जना बढी हो। यी सबैको कुल सम्पत्ति नै १ सय ३१ खर्ब अमेरिकी डलर पुग्ने फोर्ब्सले जनाएको छ।
यीमध्ये ४ सय ९३ जना नयाँ अर्बपति बनेका छन्। हरेक १७ घण्टामा एक जना नयाँ अर्बपति बनेको फोर्ब्सले जनाएको छ। नयाँ अर्बपतिमध्ये सबैभन्दा धनी भने अमेरिकी राज्यकी नेवाडाकी मिरियम एडेल्सन छिन्। उनको सम्पत्ति ३८ अर्ब २० करोड डलर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।