जेरुसेलम- इजरायली राष्ट्रपति रुभेन रिभ्लिनले निर्वाचनको अन्तिम नतिजा घोषणा हुनुभन्दा अगावै नयाँ सरकार गठन गर्न आह्वान गरेका छन्। उनले मंगलबार सरकार गठनका लागि पहल थाल्न पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आह्वान गरेका हुन्।
संसद्मा कूल सांसद संख्या १२० रहेकाले बहुमतको सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन चाहिने अवस्था रहेको छ । अहिलेसम्म सार्वजनिक भएको र स्वीकारिएको नतिजानुसार नेतान्यहुको पक्षमा ५२ सांसद रहेको बताइएको छ ।
यता लिकुड पार्टीले सरकार गठनका लागि एक सदनात्मक संसदमा बहुमत नआउने देखिएपछि आन्तरिकरूपमा गठबन्धनको तयारी थालेको छ। संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो।
‘देशको सबैभन्दा लामो समय नेतृत्व गरेको नेताका रुपमा उहाँलाई अगाडि सारिएको हाे। यता बाँकी अपुग सांसद उहाँले व्यवस्थापन गर्न सकेमा उहाँकै नेतृत्वमा सरकार बन्नसक्ने देखिएको छ,’ राष्ट्रपति रिभ्लिनले भनेका छन्।
उनले नेतान्याहु जतिको सजिलो अरुलाई नहुने देखेर आफूले उनलाई रोजेको समेत बताएका छन्।
‘आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई सरकार गठन गर्न आह्वान नगरेको भए हुन्थ्यो भन्ने धेरैलाई लागेको हुनसक्छ, तर कानुनमा आरोपीलाई प्रधानमन्त्री बन्न अवरोध गरिएको छैन भने उहाँलाई जतिको सजिलो अरुलाई नहुने देखेर उहाँलाई रोजेको हुँ,’ राष्ट्रपति रिभ्लिनले भने।
नेतान्याहुलाई भ्रष्टाचार गरेको आरोपमा अहिले तीन वटा मुद्दा लगाइएको छ । उनी सन् २००९ देखि राज्यको शक्तिकेन्द्रमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।