भियाना- विश्व शक्तिराष्ट्र र इरानले सन् २०१५ मा गरेकोे आणविक सम्झौताको विषयमा मंगलबार भियनामा अप्रत्यक्ष वार्ता गर्ने भएका छन्।
परमाणु सम्झौता अमेरिका र इरानले पालना गर्ने विषयमा सहमति जुटाउने उद्देश्यले वार्ता गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार एजेन्सी राेयटर्सले जनाएकाे छ।मध्यस्थकर्ताहरूले यस विषयमा अमेरिकासँग ‘छुट्टै सम्पर्क’ भएको बताएका छन्
सन् २०१५ मा राष्ट्रसंघको सुरक्षा परिषद्मा आवद्ध अमेरिका,चीन,फ्रान्स,रुस,बेलायत तथा इरानबीच ‘इरान न्युक्लियर डिल’ अर्थात् ‘इरानसँग सम्बन्धित परमाणु सम्झौता’ भएको थियो। तर, अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पको कार्यकालमा सन् २०१८ मा अमेरिका सम्झौताबाट बाहिरिएको थियो।
लगत्तै इरानलाई परमाणु हतियार सम्झौता उल्लंघन गरेर हतियार बनाउने कार्यमा अग्रसर बनेको भन्दै एकतर्फी प्रतिबन्ध लगाएकाे थियाे। सम्झौताबाट बाहिरिएपछि पनि अमेरिकाले इरानलाई सम्झौतामै अडिग भएर परमाणु कार्यक्रम अगाडि नबढाउन दबाद दिइरहेको थियो।
साथै अमेरिकाले इरानसँग व्यापार गर्ने जुनसुकै राष्ट्रमाथि कडा कारवाही गर्ने चेतावनी दिँदै आएको छ। यद्यपि, इरानले आफूहरूमाथि अमेरिकाले लगाएका सबै प्रतिबन्ध हटाउनुुपर्ने माग राख्दै आएको छ।
इरानविरुद्धको सबै अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने हाम्रो मुख्य एजेन्डा हो। हाम्रा सर्वोच्च नेताले बारम्बार दोहोर्याए जस्तै योभन्दा बाहेकका विषय सहमति सम्भव छैन,” एक इरानी अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। उनको यो भनाइले मंगलबार हुने भनिएको वार्ता सफल हुनेमा आशंका पैदा गरेको छ।
सन् २०२० मा अमेरिकाले आतंकवादी भएको बताउँदै इरानी सैन्य कमाण्डर कासिम सुलेमानीलाई ड्रोन आक्रमण गरी हत्या गरेको थियो। जवाफमा इरानले इराकस्थित अमेरिकी सैन्य बेसमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेकाे थियो। यसपछि अमेरिका र इरानकाे सम्बन्ध थप तनावपूर्ण स्थितिमा रहेकाे छ।
याे बिग्रिएकाे सम्बन्धलाई अमेरिकाका राष्ट्रपति जाे वाइडेनलले सुधार गर्न चाहिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।