ढाका- बंगलादेशमा लकडाउनविरूद्ध प्रदर्शन गर्न सडक उत्रिएकामाथि प्रहरीले गाेली चलाउँदा तीन जना घाइते भएका छन्। सोमबार साँझ फरिदपुर जिल्लाको सल्थामा प्रदर्शनकारीहरूले प्रहरी कार्यालयमा आक्रमण गरेपछि गोली चलेकाे हाे।
प्रहरीका अनुसार कोरोनाविरूद्धका स्वास्थ्य उपायहरू अपाउन कार्यन्वयन गराउने क्रममा प्रहरीको कुटपिटबाट बजारमा एकजना घाइते भएको भन्ने हल्ला फैलिएपछि हजाराैंकाे संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए।
उनीहरूले प्रहरी कार्यालय र सरकारी कार्यालयहरूमा ढुंगामुडा गरेपछि गाेली चलाउन परेकाे प्रहरीले जनाएकाे छ। ‘प्रदर्शनकारीले सरकारी अधिकारीको घर र दुई वटा गाडीसमेत जलाए। उनीहरूले प्रहरी कार्यालयमा आक्रमण गरेपछि हामीले आत्मसुरक्षामा गोली चलाएको हाैं,’ फरिदपुर जिल्ला प्रहरीका प्रवक्ताले एएफपीलाई भने।
प्रहरीले कति जना घाइते भएको भन्ने यकिन जानकारी दिएको छैन। तर, फरिदपुर मेडिकल कलेज अस्पतालको आपत्तकालीन वार्डका डाक्टर अब्दुल माटिनले तीन जनामाथि गोली लागेको बताए। ‘गाेली लागेका तीन जनालाई यहाँ भर्ना गरिएकाे छ। उनीहरुकाे अवस्था अवस्था गम्भीर छ,’ उनले भने।
प्रहरीका अनुसार प्रहरी कार्यालयमाथि भएको आक्रमणमा हिफाजत-इ-इस्लामको संलग्नता छ। सो समूहले गत महिना बंगलादेश आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध प्रदर्शन गरेको थियो। उक्त हिंसात्मक प्रदर्शनमा कमतिमा १२ जनाकाे ज्यान गएकाे थियाे। यद्यपि, याे समूहले अहिलेकाे घटनाको जिम्मा भने लिएको छैन।
कोरोनाको महामारी नियन्त्रण गर्न भन्दै अप्रिल ५ देखि लागु हुने गरी बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ। आइतबारमात्रै कम्तिमा सात हजार ८७ जनामा कोरोना पुष्टि भएको छ।
यद्यपि, अत्यावश्यकलगायत कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने बताइएको छ। ‘कारखानाहरू खुला रहनेछन् र कोरोना प्रोटोकल पालना गरेर निश्चित कामदारलाई काम लगाउन पाइनेछ। लकडाउनमा सरकारी कार्यालय र अदालत बन्द रहनेछ तर, उद्योग सञ्चालमा रहनेछन्,’ सार्वजनिक प्रशासनमन्त्री फरहाद हुसेनले ढाका ट्रिब्यूनलाई उद्धृत गर्दै भनेका छन्।
सोमबार प्रधानमन्त्री कार्यालयले १८ बुँदे निर्देशन जारी गरेको छ। जसमा संक्रमणको उच्चदर भएका क्षेत्रहरूमा सबै सार्वजनिक समारोहहरूमा प्रतिबन्ध गरिनेछ।
यस्तै सामाजिक, राजनैतिक र धार्मिकसहित सबै प्रकारका कार्यक्रममा सीमित मात्रमा उपस्थित हुन पाइनेछ। बसहरूले सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न पाइनेछ। यद्यपि, राजधानी ढाकामा सयौं पसल व्यापारीहरूले आफ्नो व्यापारमा घाटा भएकाे भन्दै लकडाउनको विरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।