रियाद- साउदी अरेबियाले कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई मात्रै हज तथा उमराहको लागि मक्का आउन अनुमति दिने घोषणा गरेको छ। हज तथा उमरा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
हजयात्रामा जान चाहनेले कम्तीमा १४ दिनअघि कोरोनाविरुद्धको खोपको एक डोज लगाएको विवरण अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ। साथै कोरोना संक्रमणमुक्त भएकालाई पनि मक्का आउन अनुमति दिइने छ।
‘कोरोनाविरुद्धको खोप लगाइसकेका र संक्रमणमुक्त भइसकेकालाई मात्रै उमरा गर्न र पवित्र मक्काको भव्य मस्जिदमा प्रार्थना गर्न अनुमति दिइनेछ,’ विज्ञप्तिमा भनिएको छ।
रमजानको क्रममा मक्काको मस्जिद वरपर कोरोना संक्रमण फैलन नदिन आवश्यक सबै नियम कडाइका साथ पालना गरिनेछ। त्यसका लागि ठूलो संख्यामा स्वयंसेवक खटाइने मन्त्रालयले जनाएको छ।
साउदीमा ३ लाख ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै संक्रमणका कारण ६ हजार ७ सयले ज्यान गुमाइसकेका छन्। साउदीमा ५ करोडभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। तर, यसपटक हज गर्न कतिलाई अनुमति दिनेभन्नेबारे उल्लेख गरिएको छैन।
गतवर्ष साउदी ले कोरोना संक्रमण नियन्त्रणका लागि आफ्नै मुलुकका १० हजार जनालाई मात्र हजयात्रामा जाने अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।