काठमाडौं–अजोड इन्स्योरेन्स कम्पनीको इन्साइडर ट्रेडिङको सम्बन्धमा नेपाल धितोपत्र बोर्डले छानविन सुरु गरेको छ।
बोर्डले कम्पनीको इन्साइडर ट्रेडिङका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र लगानीकर्ताको गुनासोलाई ध्यानमा राखी उप–समिति गठन गरी छानविन सुरु गरेको बताएको छ।बोर्डका निर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
धितोपत्र बोर्डले चैत १८ गतेनै अजोड इन्स्योरेन्को इन्साइडर ट्रेडिङसम्बन्धी गुनासो प्राप्त भएपश्चात नै कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण पेस गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई पत्रचार गरेको बोर्डको विज्ञप्तिमा उल्लेख छ।
नेप्सेले गत चैत १९ गते पत्रमार्फत अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने सूचना प्रकाशन गर्नुअघि नै सेयर करोबारमा १० प्रतिशत मूल्य वृद्धि भई सर्किट लागेको विवरण बोर्डमा पेस गरेको समेत बताइएको छ।
कम्पनीको हकप्रद सेयर निष्कासनको विषयमा पहिला नै सूचना चुहावट भएको भन्दै लगानीकर्ताले महनगरीय प्रहरी कार्यालय, काठमाडौंमा उजुरीसमेत दिएका छन्।
गत मंगलवार हकप्रद सेयर निष्कासनको प्रस्ताव सार्वजनिक हुुनुभन्दा अघिल्लो दिनदेखि नै कम्पनीको सेयरमूल्य अस्वभाविक रुपमा बढेकाले कम्पनीले सूचना चुहावट गरी भित्रि कारोबार गरेको आरोपमा लगानीकर्ताहरुले अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित सात जना बिरुद्ध उजुरी दिएका हुन्।
कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ। धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।