काठमाडौं- जोर्डनका पूर्वराजकुमार हमजाले आफूलाई नजरबन्दमा राख्ने आदेश अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन्।
राजकुमार हमजाले सौतेनी भाइ राजा अब्दुल्ला द्वितीयले आफूलाई अम्मान दरबार भित्र रहन आदेश दिएको भन्दै यो आदेश अप्रजातान्त्रिक भएको बताएका हुन्। उनले आफूलाई नजरबन्दमा राखेपनि यसलाई अवज्ञा गर्ने चेतावनी दिएका छन्।
‘उनीहरूले मलाई तपाईं बाहिर जान सक्नुहुन्न, ट्वीट गर्न सक्नुहुन्न, अन्य मानिससँग कुराकानी गर्न सक्नुहुन्न र केवल तपाईको परिवारसँग मात्र रहनसक्नुहुन्छ भनिएको छ,’ उनले आइतबार ट्वीटरमा पोस्ट गरेकाे अडियो रेकर्डिंगमा भनिएको छ,‘म तत्काल कुनै चाल चाल्न वा द्वन्द्वलाई बढावा दिन चाहन्न तर, म यो आज्ञापालन गर्ने छैन।
हुसेन र अब्दुल्लाह सौतेनी आमाका छोरा हुन्। उनले नै हमजालाई ‘राज्यको सुरक्षालाई अस्थिर तुल्याउने’ देशद्रोहको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन्। हमजालाई नजरबन्दमा राखिएको छ भने उनको निकट मानिने कम्तिमा १६ जनालाई हिरासतमा लिएको छ।
हमजाले राजपरिवारमा भ्रष्टाचार, कृपावाद, परिवारवाद र तानाशाही शासनले प्रश्रय पाएको आरोप लगाउँदै आएका छन्। जसका कारण उनीमाथि सरकार र राजा अब्दुल्लाविरुद्ध षड्यन्त्र रचेको आरोप छ। तर, युवराज हमजाले यी आरोप अस्वीकार गरेका छन्।
पेगम्बर मोहम्मदसँग सम्बन्ध भएको बताउने जोर्डनको शाही परिवारको शासन सन् १९९९ देखि चलिरहेको छ। यसको शासन जिम्मा ५९ वर्षका अब्दुल्लासँग छ। उनी दिवंगत राजा हुसैनका जेठो छोरा हुन्। उनकी आमा बेलायतमा जन्मिएकी रानी मूना हुन्।
यस्तै हमजा, राजा हुसैनकी चौथी श्रीमती अमेरिकामा जन्मिएकी रानी नूरका छोरा हुन्। चार विवाहमार्फत् जन्मिएका ११ सन्तानमा राजकुमार हमजालाई दिवंगत राजा हुसैनका सबैभन्दा नजिकका मानिन्थ्यो।
हमजालाई सन् १९९९ मा जोर्डनका युवराज घोषणा गरिएको थियो। त्यसैवर्ष राजा हुसैनको निधन भएको थियो। त्यतिबेला हमजालाई हुसैनका उत्तराधिकारीको रुपमा हेरिएको थियो। यद्यपि, अब्दुल्लाले गद्दी सम्हालेका थिए। अब्दुल्लाले सन् २००४ मा हमजाबाट युवराजको दर्जा फिर्ता लिएर र त्यो आफ्नो छोरालाई प्रदान गरेका छन्।
हमजाले सन् २०१८ मा सरकारको नीतिको आलोचना गरेका थिए र अधिकारीमाथि आयकर कानूनको मञ्जुरीपछि ‘विफल म्यानेजमेन्ट’ को आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।