काठमाडौं- म्यानमारको जुन्ता सरकारले गत महिनाको अन्तमा पक्राउ गरेको दुई अष्ट्रेलियाली नागरिकलाई रिहा गरेको छ। म्याथ्यु ओकेन र क्रिस्टा एभरीलाई कुनै जरिवाना नतिराइ रिहा गरिएकाे अलजजिराले जनाएको छ।
उक्त दम्पतीलाई आइतबार म्यानमारको सबैभन्दा ठूलो सहर रंगुनबाट रिहा गरिएको हो। ‘बेस्पोक परामर्श’ व्यवसाय सञ्चालन गर्दै आएका यी जोडीले गत मार्चमा म्यानमारमा छोड्ने प्रयास गरेपछि बर्मेली सुरक्षा फाैजले पक्राउ गरेकाे थियाे। उनीहरुलाई पक्राउपछि घरमै नजरबन्दमा राखिएको थियो।
सोमबार एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाली विदेश मामिला तथा व्यापार विभागका प्रवक्ताले उनीहरूको रिहाइको स्वागत गरेका छन्। उनीहरूलाई रिहाइ गरेपछि अस्ट्रेलियाका अधिकारीहरूले ‘कन्सुलर सहयोग’ प्रदान गरेका थिए।
रिहाइपछि एभरीले बर्मेली सेनाको कदम अविश्वासनीय रहेको समेत बताएकी छिन्।
‘म र मेरो श्रीमान् रिहा भएका छौं। हामी घर फर्कदै छौं भन्ने कुरा अविश्वसनीय लागिरहेको छ,’ उनले भनिन्। उनले बिनागल्ती बर्मेली सेनाले नजरबन्दमा राखेको समेत आरोप लगाएकी छिन्। ‘मैले केही गल्ती नगरेको कुरा मलाई थाहा थियो। तरपनि दुई हप्तासम्म घरमै नजरबन्दमा राखियो। यो समय एकदमै तनावपूर्ण थियो,’ उनले भने।
यता, बर्मेली सेनाले अष्ट्रेलियाली आर्थिक सल्लाहकार सीन टर्नेललाई पनि उपनिवेश युगको गोप्य कानुन उल्लघंन गरेको आरोपमा नजरबन्दमा राखेको छ। अर्थशास्त्री तथा विश्वविद्यालय प्राध्यापकसमेत रहेका टर्नेल सेनाले ‘कू’ गरेपछि पक्राउ पर्ने पहिलो विदेशी नागरिक थिए।
उनीसँगै नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङ साङ सू ची र तीनजना पदच्युत क्वाबिनेट मन्त्रीलाई समेत सोही कानुन उल्लघंन गरेको आरोपमा रंगुन अदालतमा मुद्दा चलाइएको छ।
गत फेब्रुअरी १ मा बर्मेली सेनाले ‘कू’ गरेसँगै प्रजातन्त्र पुनर्बहालीका लागि म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आएको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार जारी प्रदर्शनमा ४६ बालबालिकासहित ५५९ भन्दा बढीको मृत्यु भएको छ।
एएफपीका अनुसार सेनाविरुद्धको आन्दोलनको क्रममा २५ सयभन्दा बढी मानिसहरु पक्राउ परेका छन्। यता, मानवअधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले म्यानमारको जुन्ता सरकारले प्रजातन्त्र पक्षधर सयौं प्रदर्शनकारीलाई बेपत्ता बनाएको आरोप लगाएको छ।
अष्ट्रेलियाले म्यानमारमा रहेका सबै नागरिकलाई देश छाड्न निर्देशन दिसकेको छ। ‘हामीले म्यानमारसँग कायम रहेको सैन्य सहयोग रद्द गरेका छौं। यसका साथै त्यहाँ रहेका नागरिकहरूलाई तत्काल म्यानमार छोड्न आग्रह गर्छौं,’ अष्ट्रेलियाली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यता, दक्षिण कोरियाले पनि म्यानमारमा रहेको आफ्नो नागरिकलाई फिर्ता बोलाएको छ। म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागेर शुक्रबार दक्षिण कोरियाको शिन्हान बैंककी ३३ वर्षीय सु सु चीको मृत्यु भएपछि सबैलाई फिर्ता बोलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।