काठमाडौं- म्यानमारमा सैन्य शासनको विरोध गरिरहेका प्रदर्शनकारीले ‘ईस्टर एग’लाई आफ्नो विरोधको प्रतिक बनाएका छन्।
आइतबार प्रदर्शनकारीहरुले ‘इस्टर एग’सँग आफ्नो तस्बिर पोस्ट गरिरहेका छन्। यी तस्बिरमा ‘हामीले जित्नै पर्छ’ र ‘आउट आउट एमएएच’, ‘म्यानमारमा लोकतन्त्रको पुनर्बहाली होस्’ जस्ता नारा लेखिएकाे छ। यस्तै म्यानमारका डिफेन्स सर्भिस अफ चीफ मिन आङ लाइङ्ग लक्षित गरेर नारासमेत लगाइएकाे छ।
‘ईस्टर बर्मेली जनताको भविष्य हो र संघीय लोकतन्त्र यहाँको ठूलो भविष्य हो,’ अपदस्त सरकारका लागि अन्तर्राष्ट्रिय राजदूत डा सासाले एक विज्ञप्तिमा भने।सासा, जसले केवल एक नाम प्रयोग गर्दछ। मुख्यतः बौद्ध देशको ईसाई जातीय अल्पसंख्यक सदस्यले यसरी नाम लेख्ने गरेका छन्।
यसअगाडि प्रदशर्नकारीहरुले निरङ्कुशताविरुद्ध तीन औँला देखाएर प्रदर्शन गर्दै आएका थिए। यसलाई परम्परागत सलाम समेत भन्ने गरिन्छ।
गत फेब्रुअरी १ मा बर्मेली सेनाले ‘कू’ गरेसँगै प्रजातन्त्र पुनर्बहालीका लागि म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आएको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स ९एएपीपी०का अनुसार जारी प्रदर्शनमा ४६ बालबालिकासहित ५५९ भन्दा बढीको मृत्यु भएको छ।
शनिबार मात्रै सुरक्षाकर्मीले चलाएको गोली लागेर मोनिवामा तीन, बागो र थाटोनमा एक(एक प्रदर्शनकारीको मृत्यु भएको थियो।
एएफपीका अनुसार सेनाविरुद्धको आन्दोलनको क्रममा दुई हजार ७५० भन्दा बढी मानिसहरु पक्राउ परेका छन्। यता मानवअधिकारवादी समूह ह्युमन राइट्स वाच ९एचआरडब्ल्यू०ले म्यानमारको जुन्ता सरकारले प्रजातन्त्र पक्षधर सयौं प्रदर्शनकारीलाई बेपत्ता बनाएको आरोप लगाएको छ।
यस्तै प्रशासनले म्यानमारका कम्तीमा ४० चर्चित व्यक्तिविरुद्ध वारेन्ट जारी गरेको छ।
पक्राउ पूर्जी जारी गरिएकोमा व्यापारी, पत्रकार र केही अभिनेत्रीहरु पनि छन्। सरकारी मिडियामा राज्यद्वारा सञ्चालित एमआर टिभीमा सेनाले नामै किटेर २ पत्रकारसहित १८ चर्चित व्यापारीले सामाजिक सञ्जालमा सेनाविरुद्ध प्रदर्शन गर्न उक्साएको आरोप लगाएका थिए।
एमआर टिभीले प्रशारण गरेको समाचारमा उनीहरूले फेसबुकमा गरेको पोस्टसहित पक्राउ पूर्जी देखाइएको थियो। म्यानमारमा सेनाको विरोध गर्नुलाई अपराध मानिन्छ।
यसअगाडि पनि ९० भन्दा बढी प्रजातन्त्र पक्षधर कार्यकर्तालाई फरारको सूचीमा राखिएको थियो। उनीहरुलाई भेट्टाउन साथ पक्राउ गर्न आदेश दिइएको छ। पक्राउ पूर्जी जारी गरिएका व्यक्ति पक्राउ परे तीन वर्षसम्म जेल सजाय हुन सक्ने समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।