काठमाडाैं- अमेरिकी राष्ट्रपति जो वाइडेन र जापानका प्रधानमन्त्री योशिहिदा सुगाबीच हुने भेटमा ताइवान र चीनसम्बन्धि मुद्दामा छलफल हुने भएकाे छ।ह्वाइट हाउसका अनुसार मे १६ मा हुन लागेकाे वार्तामा ताइवानकाे भूभाग र चीनमा मानवअधिकार उल्लघंन भएकाे मुद्दामा छलफल हुन लागेकाे हाे।
पछिल्लाे समय ताइवानमा चिनियाँ गतिविधि बढ्दै गर्दा दुवै देशले चासाेकाे साथ हेरिरहेका छन्। चीनले ताइवानलाई आफ्नै एक भूभाग मान्दै आएकाे छ। तर, ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्ने गरेकाे छ।
अमेरिका र जापानलगायत युरोपका देशहरु चीनले सैन्य शक्तिको निरन्तर बृद्धि गरे क्षेत्रीय तहमा खतरा हुने बताउँदै आएका छन्। यसैकारण जापान र अमेरिकी प्रमुखहरू भेला हुँदा यो ताइवानमा सबैभन्दा ठूलो मुद्दा हुनेछ।
यता, अमेरिकाले चीनकाे सिनजियाङको विषयमा पनि छलफल गर्ने जनाएकाे छ। सिनजियाङको विषयमा चीन र पश्चिमा राष्ट्रबीच केही समयदेखि आरोपप्रत्यारोप जारी छन्। पश्चिमा मुलुकहरुले चीनले सिनजियाङका १० लाखभन्दा बढी उइगुर र अन्य मुस्लिम अल्पसंख्यक समूहलाई बन्दी झैं व्यवहार गरेको आरोप लगाइरहेका छन्।
पातलो बस्ती रहेको सिनजियाङमा कपास र अन्य कृषिजन्य उत्पादन हुने गर्दछ। पश्चिमा मुलुकहरुले यहाँ उत्पादित सामग्री खरिद नगर्ने पटकपटक धम्की दिँदै आएका छन्।
यसअगाडी जो वाइडेन सत्तामा आएपछि पहिलोपटक अलास्कामा भएको वार्तामा अमेरिकाले विभिन्न देशहरुलाई उक्साएर आफूमाथि ‘आक्रमण’ गर्न लगाएको चीनले आरोप लगाएको थियाे। तर, अमेरिका कहिल्यै पनि चीनसँग तनावको अवस्था सिर्जना होस् भन्ने पक्षमा आफूहरु नरहेको बताएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।