काठमाडाैं- बर्मेली सेनाले ४० प्रजातन्त्र समर्थकविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे छ। सेनाकाे विराेध गरेकाे भन्दै उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएकाे हाे।
पक्राउ पूर्जी जारी गरिएकाेमा व्यापारी, पत्रकार र केही अभिनेत्रीहरु पनि छन्। सरकारी मिडियामा राज्यद्वारा सञ्चालित एमआर टिभीमा सेनाले नामै किटेर २ पत्रकारसहित १८ चर्चित व्यापारीले सामाजिक सञ्जालमा सेनाविरुद्ध प्रदर्शन गर्न उक्साएकाे आराेप लगाएका थिए।
एमआर टिभीले प्रशारण गरेकाे समाचारमा उनीहरूले फेसबुकमा गरेकाे पाेस्टसहित पक्राउ पूर्जी देखाइएकाे थियाे। म्यानमारमा सेनाकाे विराेध गर्नुलाई अपराध मानिन्छ।
यसअगाडि पनि ९० भन्दा बढी प्रजातन्त्र पक्षधर कार्यकर्तालाई फरारकाे सूचीमा राखिएकाे थियाे। उनीहरुलाई भेट्टाउन साथ पक्राउ गर्न आदेश दिइएकाे छ। पक्राउ पूर्जी जारी गरिएका व्यक्ति पक्राउ परे तीन वर्षसम्म जेल सजाय हुन सक्ने समाचारमा उल्लेख छ।
गत फेब्रुअरी १ मा बर्मेली सेनाले कू गरेसँगै प्रजातन्त्र पुनर्बहालीका लागि निरन्तर प्रदर्शन हुँदै आएको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार फेब्रुअरी १ पछिको प्रदर्शनका क्रममा ४६ बालबालिकासहित ५५७ भन्दा बढीकाे मृत्यु भएको छ।
शनिबार मात्रै सुरक्षाकर्मीले चलाएकाे गोली लागेर मोनिवामा तीन, बागाे र थाटाेनमा एक-एक प्रदर्शनकारीकाे मृत्यु भएकाे थियाे।
एएफपीका अनुसार सेनाविरुद्धको आन्दोलनको क्रममा दुई हजार ७५० भन्दा बढी मानिसहरु पक्राउ परेका छन्। यता मानवअधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले म्यानमारको जुन्ता सरकारले प्रजातन्त्र पक्षधर सयौं प्रदर्शनकारीलाई बेपत्ता बनाएको आरोप लगाएकाे छ।
‘यी संख्या योभन्दा बढी हुन सक्छ। सयौं मानिसहरू म्यानमारमा विद्रोह सुरु भएदेखि बेपत्ता छन्। उनीहरुलाई जुन्ता सरकारको आदेशपछि बलपूर्वक बेपत्ता पारिएको हो,’ एचआरडब्ल्यूले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।