काठमाडौं- नेपाल वायुसेवा निगम (नेवानि)ले पाइलटको भत्ता कटौती गर्ने निर्णय संशोधन गरेको छ। निगमको सञ्चालक समितिको बुधबार बसेको बैठकले चिनियाँ जहाज उडानमा रहेका पाइलटहरुको भत्ता कटौती गर्ने निर्णय संशोधन गरेको हो।
भत्ता कटौतिको निर्णयबाट १२ जना पाइलटलाई असर परेको थियो। उक्त निर्णय अगाडि पाइलटहरुले मासिक ७१ हजार तलब तथा बुझदै आएका थिए। तर, कटौतीपछि उनीहरुले २० हजार बुझेका थिए।
उक्त निर्णयविरुद्ध पाइलटहरुले संयुक्त रुपमा निगम सञ्चालक समितिमा पत्र बुझाएका थिए। पाइलटको विरोध पत्र र निगमको कर्मचारी सेवाशर्त सम्बन्धि विनियमावली अनुसार पुनः सबै भत्ता दिने निर्णय गरेको हो।
एमए–६० उडानमा रहेका ५ जना र वाई–१२ उडानमा रहेका ७ जना पाइलटको तलब एकैचोटी ७१ हजारबाट घटाएर २० हजार पुर्याइएको थियो।
गत फागुन महिनाबाट उनीहरुको तलब एकैपटक २० हजार रुपैयाँमा झार्ने निर्णय निगम सञ्चालक समितिले गरेको थियो।
सञ्चालक समितिको यो निर्णयको विरोधमा पाइलटहरुले निगमको उच्चपदमा रहेका कर्मचारीदेखि सञ्चालक समितिलाई समेत उनीहरुले खाइपाइ आएको तलब भत्ता कटौती नगर्न माग गर्दै पत्र बुझाएका थिए।
चिनियाँ जहाज उडान बन्द भएको र आर्थिक भार बढी पर्ने अवस्था आएपछि सञ्चालक समितिबाट एमए–६० र वाई–१२ जहाज उडानमा रहेका १२ जना पाइलटको ग्यारेन्टी गरिएको ४५ घण्टा र ’टाइप अलाउन्स’ भत्ता कटौती गर्ने निर्णय भएको थियो।
सरकारले चिनियाँ जहाज व्यवस्थापनमा बाटो खुलाएसँगै चिनियाँ जहाज उडानमा रहेका पाइलटको भत्ता पुरानै अवस्थामा दिने र विस्तारै अपग्रेड गर्दै लैजाने निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।