काठमाडाैं- तान्जानियाका पूर्वराष्ट्रपति जोन मागुफुलीको श्रद्धाञ्जली सभामा भागदौड मच्चिँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। घटनामा परी १० जना घाइते भएका छन्।
६१ वर्षीय मागुफुलीको उपचारका क्रममा मार्च १७ मा निधन भएको थियाे। उनकाे शव अन्तिम श्रद्धाञ्जलीका लागि राजधानी सहर दार एससलामस्थित उहुरु रंगशालामा राखिएको थियो।
पूर्वराष्ट्रपतिप्रति श्रद्धाञ्जली व्यक्त गर्न आएका हजारौं शुभचिन्तकहरु ठेलमठेल गर्दै रंगशालाभित्र प्रवेश गर्दा भागदौड मच्चिएको स्थानिय अधिकारीहरुले जानकारी दिएका छन्।
‘त्यहाँ धेरै मानिसहरू थिए, जो स्टेडियम भित्र जान चाहन्थे। उनीहरू जबर्जस्ती पस्न खोजे र भागदौड भयो,’ दार एस सलामका क्षेत्रीय प्रहरी कमाण्डर लाजारो माम्बोसासाले भने।
मृत्यु हुनेमा पाँचजना एउटै परिवारका छन्। यद्यपि, मृत्यु हुनेको वास्तविक तथ्यांक अझै सार्वजनिक हुन नसकेकाे उनले जानकारी दिए।
उक्त घटनामा परी घाइते भएका १० जना सामान्य उपचारपछि घर फर्किसकेका छन्। मागुफुलीको निधनपछि उपराष्ट्रपति सामिया सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति बनेकी छिन्।
मागुफुलीलाई प्रतिपक्षी दलका नेताहरुले भने कोरोना भएको बताएका थिए। उक्त विषय भने पुष्टि हुन नसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तान्जानियालाई मागुफुलीले गत जुनतिर नै कोभिड–१९ फ्रि मुलुक घोषणा गरेका थिए।
पहिलोपटक सन् २०१५ मा राष्ट्रपति बनेका मागुफुली अघिल्लो वर्ष दोस्रो कार्यकालका लागि चुनिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।