काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना महामारीलाई लापरवाही गरे सरकारले संक्रमितहरुलाई सम्हाल्न नसक्ने चेतावनी दिएका छन्।
मंगलबार एक विज्ञप्ति निकाल्दै खानले कोरोना संक्रमित बढे देशका स्वास्थ्य सेवाहरूलेसमेत धान्न नसक्ने बताए। त्यसैले सुरक्षाका साधनहरु प्रयोग गर्न उनले आग्रह गरेका छन्।
‘कोरोना रोक्नको निम्ति एक मात्र बाटो छ, त्यो हो पूर्ण सावधानी। मुखमा मास्क लगाउनुहोस् र भीड ठाउँहरूमा नजानुहोस्, एक अर्काबाट दूरी राख्नुहोस् र साबुन पानीले हात र मुख धुनुहोस्,’ उनले भनेका छन्।
देशको आर्थिक अवस्था कमजोर भएको कारण पुनः लकडाउन फर्कन नसक्नेसमेत बताएका छन्। ‘देशको आर्थिक अवस्था त्यस्तो बलियो छैन। हामीले लकडाउन पुनः लागू गर्नपनि सक्दैनौं। पुनः लकडाउनमा फर्किनुपर्यो भने देश विनाशको बाटोमा पुग्ने छ, जुन छिचोल्न निक्कै गाह्रो हुनेछ,’ उनले भनेका छन्।
प्रयाप्त सावधानी अपनाउँदा अपनाउँदै आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका छन्।
‘लामो समयसम्म यस महामारीबाट जोगिएँ। तर, सिनेट चुनावका लागि जनताबीच गएपछि एक अर्काबाट सामाजिक दूरी कायम राख्न सकिनँ। यस समय मैले धेरैलाई भेटेँ, जसको परिणामस्वरूप ममा कोरोना संक्रमण भयो,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।