काठमाडाैं- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायतका २४ देशका नेताले भविष्यमा हुने विश्वव्यापी महामारीहरूसँग जुध्ने तयारीका लागि एउटा अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन्।
बीबीसीका अनुसार आआफ्ना देशका केही चर्चित समाचारपत्रहरूमा प्रकाशित लेखमा बेलायती प्रधानमन्त्री जोन्सन, फ्रान्सका राष्ट्रपति माक्रोँ, जर्मनीकी चान्सलर एङ्गेला मेर्कलसहितका नेताहरूले काेराेना भाइरसकाे महामारीले दुनियाँका सामु सबैभन्दा ठूलो चुनौती खडा गरिदिएको भन्दै सन्धि गर्न आह्रवान गरेका हुन्।
२४ नेताले देशहरूबीच आपसी सहयोगको सहज वातावरण तयार पार्न दोस्रो विश्वयुद्धको समाप्तिपछि भएको जस्तै प्रकारको सन्धि आवश्यक भएको तर्क गरेका छन्।
वर्तमान महामारीले संसारका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहँदैनन् भन्ने पाठ सिकाएको पनि उनीहरूले उल्लेख गरेका छन्।
अब संसारका देशहरू भविष्यमा हुने महामारीको सटिक अनुमान गर्न, रोकथाम गर्न, पत्ता लगाउन, समीक्षा गर्न र त्यसप्रति प्रभावकारी ढङ्गले उच्चस्तरको संयोजित प्रतिक्रिया जनाउन सक्ने अवस्थामा रहनुपर्ने उनीहरूको भनाइ छ।
सन्धिले सम्भावित महामारीका बारेमा जनतालाई सावधान गराउन अझ प्रभावकारी प्रणालीहरूको स्थापना गर्न सघाउने उनीहरू बताउँछन्।
साथै त्यसबाट महामारीसँग सम्बन्धित तथ्याङ्कहरूको आदानप्रदान, खोपहरू तथा सुरक्षात्मक पोसाक र उपकरणहरूको वितरणजस्ता आवश्यकताहरूको सम्बोधनमा पनि सुधार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।