काठमाडाैं- यौन अपराधकाे आराेप लागेका अष्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरलाई पदबाट हटाइएको छ।
अस्ट्रेलियाको महान्यायाधिवक्ता केन्द्र सरकारको वरिष्ठ मन्त्री रहने व्यवस्था छ । उनले कानुनी मामिला, राष्ट्रिय तथा सार्वजनिक सुरक्षा हेर्दै आएका थिए। उनीमाथि सन् १९८८ मा १६ वर्षीया किशोरीको बलात्कार गरेको आरोप छ।
गत जुन महिनामा पीडित भनिएकी महिलाले आत्महत्या गरेकी थिइन्। उनले केही समय पहिले न्यु साउथ वेल्स प्रहरीमा यसबारे उजुरी दिएकी सञ्चारमाध्यमले जनाएका छन् । तर, उनको मृत्युपछि उक्त मुद्दाको छानबिन बन्द गरिएको थियो ।
बीबीसीका अनुसार न्यु साउथ वेल्स प्रहरीले आवश्यक प्रमाण नभएका कारण उक्त घटनाको छानबिन बन्द गरेको हाे। यता पोर्टरले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन्। युवतीसँगै आफू गएको भए पनि त्यस्तो अनैतिक कार्य नगरेको बताएका हुन् ।
सन् २०१७ मा महान्यायाधिवक्ता भएका पोर्टर अस्ट्रेलियाली राजनीतिमा निकै प्रभावशाली मानिन्छन्। कतिपयले उनलाई भावी प्रधानमन्त्रीका रूपमा समेत हेर्दै आएका छन्। तर यो घटनापछि भने उनको राजनीतिक भविष्यलाई केही क्षति पुग्ने आकलन गरिएको छ।
त्यस्तै रक्षामन्त्री लिन्डा रेनोल्डसलाई पनि पदबाट हटाइएको छ। उनीमाथि संसद भवनमा भएको भनिएको बलात्कारको अनुसन्धान सही तरिकाले नगरेको आरोप छ।
मन्त्री पदबाट हटाइएपनि उनीहरु दुवै सरकारमा भने रहनेछन्। रेनोल्ड्सलाई सरकारी सेवाको पोर्टफोलियो हेर्ने जिम्मा दिइएको छ। यता पोर्टरलाई उद्योग, विज्ञान तथा प्रविधिसम्बन्धी मामिला हेर्ने जिम्मा दिइएको छ।
जिम्मेवारी हेरफेरको क्रममा प्रधानमन्त्री स्कट मौरिसनले केही महिलाको बढुवा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।