काठमाडाैं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा म्यानमारका नवनियुक्त परराष्ट्रमन्त्री उन्ना माउङ लिउन सहभागी हुने भएका छन्।
भर्चुअल रूपमा आगामी बिहीबार आयोजना हुने बिमस्टेकको सातौं बैठकका लागि आयोजक मुलुक श्रीलंकाले म्यानमारसहित सबै सदस्य मुलुकका परराष्ट्रमन्त्रीहरूलाई निमन्त्रणा पठाएको छ।
म्यानमारमा सैन्य ‘कू’ पछि सरकारले उन्ना माउङ लिउनलाई परराष्ट्रमन्त्री बनाएको छ। उनी पहिलो पटक बिमस्टेक बैठकमा सहभागी हुँदैछन्।
म्यानमारको सेनाले फेब्रुअरी १ मा शासनसत्ता आफ्नो हातमा लिएपछि त्यहाँ प्रजातन्त्र पुनस्र्थापनाको माग गर्दै आन्दोलन भइरहेको छ। पछिल्ला दिनहरूमा म्यानमारमा सेनाले दमनलाई तीव्र बनाएको छ। त्यहाँ एकैदिन दर्जनौं प्रदर्शनकारीको हत्या हुन थालेको छ। शनिबार सेना तथा प्रहरीले एकैदिन ११४ प्रदर्शनकारीलाई गोली हानेर मारेका थिए।
यता म्यानमारमा आइतबार भएका घटनामा थप १३ जना व्यक्तिको मृत्यु भएको जनाइएको छ। लगभग दुई महिनादेखि जारी आन्दोलनमा ४६९ नागरिक मारिएका छन्। यस्तै २५ सय ५९ जनाभन्दा बढी पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।