काठमाडाैं- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आफ्नो आत्मसुरक्षाको अधिकारलाई निषेध गर्न खोजेको भन्दै उत्तर कोरियाले आपत्ति जनाएको छ।
सुरक्षा परिषद्को सान्कसन कमिटीको शुक्रबार बसेको बैठकमा अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने बताएपछि उसले आत्मसुरक्षाको अधिकारलाई निषेध गर्ने उद्देश्यका साथ बैठक आयोजना गरिएको भन्दै आपत्ति जनाएको हो।
बिहीबार उत्तर कोरियाले सी अफ जापानमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो। यता, आइतबार पनि उत्तर कोरियाले यल्लो सी मा दुईवटा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो। क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैन। तर, ब्यालेस्टिक मिसाइललाई खतरनाक हतियार मानिन्छ।
यसलगत्तै अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले लगाएको प्रतिबन्ध उत्तर कोरियले उल्लघंन गरेको आरोप लगाएको थियो।
उत्तर कोरियाको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय संगठनका महानिर्देशक जो चोल सुले उक्त बैठकमा आफ्नो देशको आलोचना हुनु अमेरिकाको पूर्वाग्रही रणनीतिको उत्पादन भएको बताएका छन्।
‘अन्य मुलुकले पनि बेलाबेलामा आफ्नो सैन्य क्षमता बढाउनका लागि मिसाइल परीक्षण गर्दै आएका छन्। तर, हाम्रा लागि मात्रै दोहोरो मापदण्ड अपनाइएको छ,’ उनले भनेका छन्।
उत्तर कोरियाले आत्मरक्षाका लागि गरेको मिसाइल परीक्षणको विरोध गरेको भन्दै अमेरिकी राष्ट्रपति जो वाइडेनको पनि आलोचना गरेको छ।
‘उत्तर कोरिया अवैध रूपमा आणविक र ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको छ। उत्तर कोरियाका प्रमुख किम जोङ उनको यो कदम अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि खतरनाक छ,’ वाइडने प्रशासनले शुक्रबार भनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।