काठमाडाैं- म्यानमारका सेनाले जारी प्रदर्शनलाई मथर बनाउन सर्वसाधारणमाथि हवाई कारवाही गर्न थालेका छन्। सेनाले पूर्वी सिमाना नजिकको मुट्र जिल्लाका क्षेत्रमा रहेका शिविरलाई लक्षित गरेर हवाई आक्रमण गरेको अलजजिराले जनाएको हो।
जातीय सशस्त्र समूहको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा सेनाले हवाइ कारवाही गरेपछि करिब ३ हजार सर्वसाधरण शरणका लागि भागेर छिमेकी देश थाइल्याण्ड पुगेका छन्।
‘अहिले गाउँहरु जंगलमा लुक्दैछन् , ३ हजारभन्दा बढी थाइल्याण्ड शरण लिन पुगेका छन्,’ करेन वुमन्स अर्गनाइजेसनले एक विज्ञप्तिमा भनेको छ, ‘हामी यो सन्देश पठाउन चाहन्छौं कि सेनाले दण्डहीनताको साथ काम गर्न सक्दैन। सेनाको अत्याचारमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियाको माग गर्दछौं।’
थाई पब्लिक ब्रोटकास्टिङ सर्भिसले पनि लगभग ३ हजार सर्वसाधरण थाइल्याण्ड पुगेको जनाएको छ। यता थाइल्याण्डका अधिकारीले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

म्यानमारमा हिंसा जारी नै रहेको छ। गत शनिबार सेना तथा प्रहरीले एकैदिन ११४ प्रदर्शनकारीलाई गोली हानेर मारेका थिए।
शनिबार मारिएकाहरूको शोकसभा धेरै सर्वसाधरण उपस्थित भएका थिए। देशको सबैभन्दा ठूलो शहर याङ्गुनमा नजिकै रहेको बागोमा सैनिकहरूले २० वर्षीय विद्यार्थी थाई मउङ्ग मउङ्गको शोकसभामा भेला भएका सर्वसाधरणमाथि गोली चलाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ। तर, घटनाको विवरण सार्वजनिक गरिएको छैन।
‘हामी उनका लागि क्रान्तिकारी गीत गाउँदै थियौं, सुरक्षा बल आइपुगे र हामीमाथि गोली हान्न थाले,’ एक महिलाले भनिन्, ‘सेनाले गोली चलाउँदा भेलामा सहभागी मानिसहरू भागेका थिए।’
सेनाले फेब्रुअरी १ लोकतान्त्रिक नेतृ आङ साङ सू ची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका थिए। एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ।
म्यानमारमा आइतबार भएका घटनामा थप १३ जना व्यक्तिको मृत्यु भएको जनाइएको छ। लगभग दुई महिनादेखि जारी आन्दोलनमा ४६९ नागरिक मारिएका छन्। यस्तै २५ सय ५९ जनाभन्दा बढी पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।