ढाका- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएकाे बिबिसीले जनाएकाे छ।
ब्राह्राणबरियालगायतका स्थानमा आइतबार पनि विरोध प्रदर्शन भएको थियो। ब्राह्राणबरिया सदर अस्पतालका डा शाैकत हुसैनले बिबिसीलाई हड्तालका दाैरान भएकाे झडपका क्रममा घाइते भएका मानिसले अस्पतालमा ज्यान गुमाएकाे बताए।
मोदीले विराेधका बाबजुद बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी समारोहमा भाग लिएका थिए। शुक्रबार उनले बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन्।
मोदीको भ्रमणकाे पूर्वसूचना पाउनासाथ ढाकास्थित बैतुल मोकर्रम मस्जिदमा हिंसात्मक प्रदर्शन भएकाे थियाे। प्रदर्शनकारीलाई तिरवितर बनाउन प्रहरीले अश्रुग्यास र रबरको गोलीसमेत प्रहार गरेकाे अलजजिराले जनाएकाे छ।
शुक्रबारको प्रार्थनापछि सयौं प्रदर्शनकारीहरू मस्जिदको बाहिर जम्मा भएका थिए। एउटा समूहले मोदीको अनादरको चिह्नका रूपमा जुत्ता उठाउन थालेपछि अर्को समूहले उनीहरूलाई रोक्न खोजेपछि हिंसात्मक झडप भएकाे प्रत्यक्षदर्शीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।