काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई ठूला पार्टीको एकताले कांग्रेसलाई असर नपर्ने बताएका छन्।
तरुण दल काठमाडौंले शनिबार आयोजना गरेको जिल्लास्तरीय सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले दुई ठूला पार्टी मिल्दैमा कांग्रेसको आस्था र वजनमा कमि नआउने बताए।
कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर काम गर्न सक्ने हो भने फेरि पनि जनताको विश्वास आर्जन गर्न सकिने उनको भनाइ थियो। विगतमा मुलुकका ठूल्ठूला परिवर्तनमा कांग्रेसले अग्रणी भूमिका निर्वाह गरेको भन्दै नेता सिंहले नेतृत्व तहबाटै पार्टीको आदर्श र सिद्धान्तलाई केन्द्रमा राखेर काम गर्ने हो भने फेरि पनि जनताले कांग्रेसलाई ठूलो पार्टीको रुपमा स्थापित गराउने दाबी गरे।
नेता सिंहले स्पष्ट बहुमत रहेको भन्दै घमण्ड गर्नुको साटो विधि, विधान र प्रक्रियासम्मत ढंगले अघि बढ्न सरकारलाई सचेत गराए।
उनले संघीय संसद् कार्यसञ्चालन नियमावलीमा सत्तारुढ दलले सहमति तोडेर बहुमतको अहम् देखाएको टिप्पणी गरे। मस्यौदा समितिमा सहमति भइसकेको विषयमा संशोधन प्रस्ताव दर्ता गरेर सत्तारुढ दलले कांग्रेसका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाए।
अर्को प्रसंगमा नेता सिंहले यातायात व्यवसायीलाई तर्साउने, धम्काउने र हतोत्साही गर्ने सरकारी गतिविधिको विरोध गर्दा कांग्रेस सिन्डिकेट पक्षधर भनी आरोप लगाउने काम भएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।