काठमाडौं– स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले ‘बहु मंगलद्वार चैत्य’ पुनःनिर्माण सम्पन्न गरेको छ।
२०७२ बैसाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पनका कारण सो चैत्यमा क्षति भई जोखिम बढेपछि पुनःनिर्माण गरिएको हो।
पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्वार कार्य चालु आर्थिक वर्षको सुरुवातमा सुरु गरी हालै सम्पन्न गरिएको हो। त्यस चैत्यलाई नयाँ प्रविधिको प्रयोग गरी पुनःनिर्माण पूरा गरिएको र अब रंगरोगन गर्न बाँकी रहेको महासमितिले जनाएको छ।
प्राचीन चैत्य मानिने उक्त सम्पदा करिब ४० लाख रुपैयाँको लागतमा महासमितिले निर्माण गरेको हो। विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका केही सम्पदा भने समयमै जीर्णोद्वार हुन सकेका छैनन्। महासमितिले विभिन्न माध्यमबाट संकलन गरेका आर्थिक स्रोत खर्च गरेर पुनःनिर्माण कार्य सम्पन्न गरेको हो।
पुरातत्व विभाग र महासमितिको समन्वयमा अन्य सम्पदा स्थलको मर्मत तथा पुनःनिर्माणका लागि अध्ययन भइरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए।
यसअघि स्वयम्भू महाचैत्यदेखि करीब एक किलोमिटरको दुरीमा रहेको विश्वबन्धु चैत्य (शान्ति चैत्य) पनि महासमितिले बनाएको थियो। स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुरको मर्मत तथा जीर्णोद्वारको काम ९० प्रतिशत कार्य महासमितिले नै गरेको छ।
महाचैत्य आसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पूजारीका केही घर निर्माण भएका छन् भने केही निर्माण हुने क्रममा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।