काठमाडाैं- समकक्षी नेपाली कांग्रेसका नेताहरूमा सादगी र निष्ठाकाे राजनीति गर्ने थाेरै नेतामा गनिन्थे नविन्द्रराज जाेशी। प्रतिनिधि सभाकाे निर्वाचनमा काठमाडाैं-८ बाट उनी पराजित भएका थिए। पहिलाे र दाेस्राे संविधान सभाकाे निर्वाचनमा उनी विजयी भएका थिए। पहिलाे संविधान सभामा अष्टलक्ष्मी शाक्य र दाेस्राे संविधान सभामा जीवनराम श्रेष्ठलाई पराजित गर्दै संविधान लेखनमा सक्रिय भएका थिए।
२०७३ सालमा उनले सरकारमा जाने माैका पाएका थिए। २०७३ भदाै १० मा मन्त्रीकाे सपथ लिएपछि उनले राज्यका लागि केही गर्ने वाचा गरेका थिए। यही वाचा अनुसार मृत्यु पर्यन्त छाप छाेड्ने कार्य गरेका थिए। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादी-कांग्रेस संयुक्त सरकारमा जोशी उद्योगका मन्त्रीका रूपमा सहभागी भएका थिए।
रुग्ण र बन्द भएका उद्योगलाई पुनर्जीवन दिनका लागि जोशीले आफ्नो कार्यकालमा भरमग्दुर प्रयास गरेका थिए। जोशीको कामको प्रतिफलले केही उद्योगहरूले नयाँ जीवन पाएका थिए। जोशीको पहलमा पुनर्जीवन पाएका केही उद्योगले सञ्चालन नाफा पनि कमाउन थालेका छन्।
जोशी उद्योगमन्त्री हुनुभन्दा अघि उदयपुर सिमेन्ट कारखाना घाटामा सञ्चालित थियो भने नेपाल औषधि लिमिटेडले सात वर्षदेखि सिटामोलको उत्पादन बन्द गरेको थियो।
२०७३ को साउनमा उद्योगमन्त्री बनेका जोशीको कार्यकाल २०७४ जेठमा सकिएको थियो। नौ महिने कार्यकालमा जोशीले बन्द रहेका र घाटामा सञ्चालित उद्योगहरूलाई पहिलो प्राथमिकतामा राखेका थिए।
उद्योगमन्त्रीका रूपमा जोशीले कार्यभार सम्हालेको समयमा उदयपुर सिमेन्ट कारखाना ४० करोड घाटामा थियो भने सिटामोलको उत्पादन बन्द अवस्थामा थियो। उदयपुर सिमेन्ट कारखाना निरन्तरको घाटाले बन्द हुने अवस्थामा पुगेको थियो।
नेपालमा उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण छ भन्ने उनलाई लागेको थियो। सरकारले उद्योग सञ्चालनका लागि सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने सङ्कल्प थियो।
सरकारको स्वास्थ्य र शिक्षामा सबैभन्दा बढी दायित्व रहेको उनि बताउने गर्थे। बन्द रहेको सिटामोलको उत्पादनका लागि उनले तदरुकता देखाए। नेपालीका लागि सिटामोल ब्रान्ड नाम पनि हो। सिटामोल औषधिका रूपमा धेरै खपत भएको हुन्छ।
बन्द रहेका उत्पादन सुचारु हुनाले रोजगारी पनि सिर्जना हुनुका साथै आम नागरिकले 'रिजनेबल' मूल्यमा सिटामोल प्राप्त गर्ने हुनाले सिटामोलको उत्पादनलाई उच्च प्राथमिकता दिएका थिए।
सरकारी उद्योग तथा संस्थानहरू धराशायी हुनुको मुख्य कारण राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र अनावश्यक कर्मचारीको भार रहेका छन्। जोशीले मन्त्रीमा नियुक्त भइसकेपछि उद्योगहरूको वस्तुस्थिति बुझ्दा तिनै कारणले उद्योगहरूले गति लिन नसकेको निर्क्योल गरे।
नेपाल औषधि लिमिटेडमा जोशी पहिलो पटक पुग्दा बन्द अवस्थामा थियो। लिमिटेडका महाप्रबन्धकको पदमा कोही थिएनन्। उनले महाप्रबन्धक नयाँ नियुक्त गरे। महाप्रबन्धकलाई योग्यता र अनुभवका आधारमा छनोट गरे। आफै छनोट नगरी जोशीले डा. भगवान कोइरालाको छनोट टोलीलाई अधिकार दिए।
छनोट भएका नयाँ जीएमलाई ‘बेइमानी हुनुहुँदैन’ यति मात्रै भनेका थिए। धेरै मेसिनहरू काम लाग्दैनन् भनी थन्क्याइएको थियो। जीवन पैसाभन्दा पनि महत्वपूर्ण भएकाले सिटामोल उत्पादन गर्नुपर्छ भन्ने उनलाई लाग्यो। निजी तथा बाहिरी कम्पनीसँग सरकारले प्रतिस्पर्धा गर्नसक्ने आत्मबल भएकै कारण तत्परता लिएको उक्त कार्य सफल भएकाे थियाे।। मानव जीवनसँग जोडिएका केही संवेदनशील विषयले पनि हामी सक्छौँ भन्ने आत्मविश्वास जागाउने काममात्र आफूले गरेकाे भन्दै उनी जस सबैलाई दिने गर्दथे।
उदयपुर, हेटौँडा कारखानामा जोशीले कर्मचारीमा परिवर्तन गर्नुपर्ने कारण देखेनन्। भएकै कर्मचारीहरूलाई उत्पादन र गुणस्तरमा जोड दिन आग्रह गरे। माथिल्लो निकायबाट उनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। हिजो के भएको थियो, उनले सोधेनन्। भविष्य राम्रो हुनुपर्छ भन्ने उनको मान्यता थियो।
सरकारी लगानीमा स्थापित नेपाल औषधि लिमिटेडले २०७४ फागुनदेखि आफ्नो उत्पादन पुनः सुरु गरेको थियाे। विसं. २०६६ देखि बन्द रहेको कम्पनीलाई जाेशीले पुर्नजिवन दिएका थिए। विगतमा एक सय २० प्रकारका औषधि उत्पादन गरेको कम्पनीले जीवनजल मात्रै उत्पादनमा आफूलाई सीमित गरेकाे अवस्थामा उनले नयाँ आसाकाे सञ्चार गराउँदै उत्पादन सुरु गराएका थिए।
२०२९ मा सरकारी तवरमा सञ्चालित उद्योग २०५८ देखि घाटामा जान थालेको थियो। पूर्वमन्त्री जोशीको पहलका कारण उद्योगले गति लिएको थियाे। ४० करोड घाटामा गएको उदयपुर सिमेन्टलाई जोशीको सक्रियतामा २४ घण्टा नै सञ्चालनमा ल्याइएको थियो। असल व्यवस्थापनका कारण उद्योगले उत्पादनमा वृद्धि गर्दै ११ करोड नाफा कमाएको थियाे। नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा रहेको उदयपुर सिमेन्ट कारखाना २०४५ मा जापान सरकारको सहयोगमा निर्माण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।