काठमाडौं- ‘आफ्नै घरमा सुतिरहेका बेला बेपत्ता पारिएका मुसाफिर झा र उनकी पत्नीको अवस्था किन पत्ता लाग्न सकेन? बिछ्यौनासहित रहस्यमय तरिकाले बेपत्ता पारिएको घटनाको दोषी किन प्रहरीले पत्ता लगाउन सकेन? तत्काल दोषीलाई कानुनी दायरामा ल्याइयोस्,’ मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद इन्दुकुमारी शर्माले भनिन्।
पीडित परिवारका सदस्यले जाहेरीमा उल्लेख गरेका मान्छेमात्रै प्रहरीले पक्राउ गरेको, प्रभावकारी अनुसन्धान नगरेको र अभियुक्त पक्राउ पर्दा समेत झा दम्पतीको अवस्था सार्वजनिक नहुनुले अनुसन्धानमै आशंका गर्ने ठाउँ रहेकोतर्फ सांसद शर्माले इंकित गरिन्।
सांसद शर्माले भनेजस्तै बेपत्ता भएको एक महिना नाघिसक्दा समेत मुसाफिर झा र उनकी पत्नी गीतादेवीको अवस्था प्रहरीले पत्ता लगाउन सकेको छैन। संसदसम्म पुगेको उक्त बेपत्ता प्रकरणको अनुसन्धानमाथि भने प्रहरी मजाक गरेको छ। रोचक त के भने बेपत्तामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा समेत झा दम्पतीको अवस्थाबारे भने प्रहरी अनभिज्ञ छ। बेपत्ता घटनामा संलग्न यिनै हुन् भनेर सार्वजनिक गर्ने तर बेपत्ता पारिएका व्यक्तिको अवस्थाबारे केही पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धान कति फितलो छ भन्ने स्पष्ट हुन्छ।
गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मुसाफिर र उनकी पत्नी ६० वर्षीया गीतादेवी आफ्नै घरमा सुतिरहेका थिए। भोलिपल्ट अबेरसम्म झा दम्पती नउठेपछि कोठामा गएर हेर्दा बिस्तरासहित उनीहरू बेपत्ता भएका थिए। कोठामा रगतका टाटासमेत भेटिएको थियो।
उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएका चार जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले गत आइतबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको थियो। प्रहरीको दाबी अनुसार झा दम्पती बेपत्तामा उनका छिमेकी तथा स्थानीय रामबाबु यादव, उनका जेठा छोरा सुरेन्द्र यादव, कान्छा छोरा राजेन्द्र र भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुर संलग्न छन्।
उनीहरू चार जना दम्पती बेपत्तामा संलग्न रहेको भनेर प्रहरीले सार्वजनिक गरे पनि दम्पतीको अवस्थाबारे भने अझै अनभिज्ञ छ। घटनामा संलग्न भनेर मान्छे सार्वजनिक गर्नु र बेपत्ता व्यक्तिको अवस्था भने एक महिनासम्म अज्ञात नै हुनुले प्रहरी अनुसन्धान कति कमजोर छ भने प्रष्ट्याउने नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविज्ञ हेमन्त मल्ल बताउँछन्।
बेपत्तामा संलग्न भएको भनेर सार्वजनिक गरिएका व्यक्ति रामबाबुको घरमा रगत भेटिनु र उक्त रगत झा दम्पतीको घरमा भेटिएको रगतसँग म्याच हुनुलाई प्रहरीले बेपत्तामा उनीहरूको संलग्नता बेपत्ता भएको पुष्टि गर्ने आधार बनाएको छ। तर, अनुसन्धान अधिकारीले सोचेभन्दा फरक तरिकाले समेत अनुसन्धान हुनसक्ने भन्दै हतारिएर अभियुक्त सार्वजनिक गर्न नहुने मल्लको भनाइ छ ।
‘ओखलढुंगामा एक पटक यस्तै प्रकृतिको घटना भएको थियो। मान्छे नदीमा बेपत्ता पारिएको भनेर केही मान्छे पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाइएको थियो। पछि मृत भनेका व्यक्ति घर आए,’ पूर्वडिआइजी मल्ल भन्छन्, ‘रगतलाई आधार मानेर बेपत्तामा उनीहरूको संलग्नता भन्दै हतारिएर सार्वजनिक गर्नुले अनुसन्धान अपरिपक्व भएको संकेत गर्छ। यदि बेपत्तामा उनीहरू कैै संलग्नता हो भने सार्वजनिक गर्दा बेपत्ता दम्पतीको अवस्था प्रहरीले पत्ता लगाउनु पर्थ्याे।’
बेपत्ता पारिएका भनिएका व्यक्ति आफैं बेपत्ता भएको हुनसक्नेतर्फ समेत सोचेर प्रहरीले अनुसन्धान गर्नुपर्नेमा हतारिएर अभियुक्त सार्वजनिक गरिएको मल्लको भनाइ छ।
बिस्तरासहति बेपत्ता हुनुले झनै शंका गर्ने ठाउँ देखिएको सुरक्षा विज्ञ मल्ल बताउँछन्। ‘अपहरण नै भएको वा कसैले बेपत्ता गराएको हो भने किन विस्तरासमेत लैजानु प¥यो र?’ शंका गर्ने ठाउँ रहेको मल्ल बताउँछन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यको भनाइले नै अनुसन्धान कति कमजोर छ भन्ने प्रष्ट्याउँछ। बेपत्तामा संलग्न भएका मान्छे पक्राउ गरिसकेपछि बेपत्ता पारिएका व्यक्तिको अवस्था भने किन पत्ता लाग्न सकेन भन्ने प्रश्नमा एसपी आचार्यले नेपाललाइभसँग भने, ‘बेपत्तामा संलग्न भनिएका मान्छेले बयानमा त्यसबारे केही बोल्नै नमान्दा समस्या आएको हो।’
‘मान्छे सार्वजनिक भएर मात्रै हुँदैन, कि सास चाहिन्छ कि लास’
झा दम्पतीका छोरा मनिषकुमार झा भने प्रहरी अनुसन्धानबाट अहिले सन्तुष्ट भइसकेका छैनन्। प्रहरी अनुसन्धानलाई प्रश्न गर्ने ठाउँ बाँकी नै रहेको उनले नेपाललाइभसँग बताए । ‘बेपत्ता घटनामा संलग्न भनेर केही व्यक्ति सार्वजनिक गरिए पनि बाबुआमाको अवस्था पत्ता नलाग्नुले अनुसन्धानमा प्रश्न गर्ने ठाउँ छ,’ मनिषकुमार भन्छन्।
हाल पक्राउ गरिएका चार जना विरुद्ध पहिल्यैदेखि रिसिइबी भएकाले बेपत्ता घटनामा उनीहरूको संलग्नता हुनसक्ने झा परिवारको भनाइ छ। प्रहरीले चार जनालाई सार्वजनिक गर्दै बेपत्ता घटनामा संलग्न उनीहरू नै हुन् भनेको चित्त बुझे पनि बाबुआमाको अवस्थाबारे केही पत्ता लाग्न नसक्नुले अनुसन्धानमा झा परिवार सन्तुष्ट छैन।
‘बेपत्तामा संलग्न भनेर सार्वजनिक गरिसकेपछि बाबुआमाको अवस्था पत्ता लाग्नु पर्ने हो, तर अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन,’मनिषकुमार भन्छन्, ‘हामीलाई कि सास चाहिन्छ कि लास।’
सार्वजनिक गरिएका चार जना बेपत्तामा संलग्न हुने आधार के ?
सार्वजनिक गरिएका चारजना विरुद्ध प्रहरीले बेपत्ता, अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान गरेको छ। पक्राउ गरिएका चार जना नै घटनामा संलग्नु हुनको मुख्य कारण रामबाबुको घरमा रगतको टाटा भेटिनु, पूर्वरिसिइबी हुनुलाई मुख्य आधार प्रहरीले बनाएको छ।
एसपी आचार्यले पत्रकार सम्मेलनमा दाबी गरका छन्, ‘झा दम्पतीको घरमा भेटिएको रगत र रामबाबुको घरमा भेटिएको रगत एउटै भएको पुष्टि भएको छ। जग्गा विवाद नै बेपत्ताको मुख्य कारण देखिन्छ।’
प्रहरीका अनुसार भारतीय नागरिक हरेन्द्र र रामबाबुले सस्तो मूल्यमा १३ बिगाहा जग्गा किनेर प्लटिङ गरी महँगोमा बेच्न लागेका थिए। प्लटिङ गर्न लागिएको जग्गाको उत्तरतर्फ भने बेपत्ता पारिएका दम्पतीको १४ कट्ठा जग्गा छ भने त्यो भन्दा माथि हरेन्द्रको थप २ बिगाहा जग्गा पर्छ। बीचमा झा दम्पतीको जग्गा रहेकाले उनीहरूले उक्त जग्गा बेच्न दबाब दिएको तर जग्गा बेच्न नमानेपछि बेपत्ता पारेको प्रहरीले दाबी गरेको छ।
योसँगै प्रहरीले पोलिग्राफ परीक्षणमा अभियुक्तले झुट बोलेको भनेर पुष्टि भएको जनाएको छ। तर पोलिग्राफ परीक्षणलाई अदालतले भने प्रमाणको रुपमा लिने गरेको छैन।
कसरी भएका थिए झा दम्पती बेपत्ता?
फागुन १० गते ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झा सहोडवास्थित आफ्नै घरमा सुतेका थिए। बेग्लाबेग्लै कोठामा सुतेका झा दम्पती भोलिपल्ट अबेरसम्म पनि उठेनन्। त्यसपछि उनीहरूको कोठामा बुहारी जाँदा दुवै जना कोठामा थिएनन्। कोठामा रगतका टाटा देखिएका थिए, तर बिस्तरा भने थिएन।
मान्छे बेपत्ता हुनु र रगतका टाटासमेत देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रगतका टाटा भेटिनु, बिस्तरा हराउनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो। तर, एक महिना बितिसक्दा समेत बेपत्ता दम्पतीको अवस्थाबारे प्रहरीले केही भेउ पाउन सकेको छैन।
घटना भएको दिन झा दम्पतीको घरमा उनीहरूसँगै बुहारी र नाति थिए। उनीहरूले समेत घटनाका बारेमा कुनै जानकारी नपाएको प्रहरीलाई बताएका छन्। घरका दुई जना सदस्य बेपत्ता हुँदा परिवारका सदस्यलाई समेत कुनै जानकारी नहुनुले घटना झनै रहस्यमय भएको विश्लेषण प्रहरीको छ।
आशंका सीमा पार गरिएकोसम्म
झा दम्पती बेपत्ता भएपछि उनको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली, प्रदेश २ प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली खटिएको छ।
प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहको टोलीले महोत्तरी, धनुषा लगायतका ठाउँमा एक महिनादेखि नै सर्च अपरेशन चलाइहेको छ। प्रहरीले सर्च अपरेसन चलाएपछि फागुन १४ गते उनीहरूले प्रयोग गर्ने २ वटा झुल भने पोखरीमा फेला पारेको थियो। झा दम्पतीको घरभन्दा करिब ८ सय मिटर टाढाको एक पोखरीमा उनीहरूले प्रयोग गर्ने दुई वटा झुल भेटिएको डिआइजी सिंहले बताए।
पोखरीमा झुल भेटिएपछि दम्पतीको हत्या गरेर फालिएको हुनसक्ने भन्दै प्रहरीले महोत्तरी र धनुषाका ५० वटा पोखरीमा समेत जाल हानेर खोजी गरेको थियो। तर फेला नपरेपछि सीमा पार गरेर भारत पुर्याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। डिआइजी सिंह भन्छन्, ‘अहिलेसम्म अवस्था पत्ता नलाग्नुले उनीहरूलाई सीमा पार गराइसकिएको पनि हुनसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।