काठमाडाैं- नागरिक स्टक डिलर कम्पनी लिमिटेडले नेप्सेमा सूचीकृत २१८ वटा कम्पनीमध्ये ३९ वटा कम्पनीको मात्रै कारोबार गर्न पाउने भएको छ। नागरिक स्टक डिलरले २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, होटल तथा पर्यटन समूहको १ र अन्य समूहको पनि समान १ कम्पनीको सेयर मात्रै कारोबार गर्न पाउनेछ।
कारोबार योग्य विकास बैंकहरुमा एक्सेल विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, मितेरी विकास बैंक, मुक्तिनाथ विकास बैंक र साइन रेसुंगा विकास बैंक रहेका छन्।
त्यस्तै, लघुवित्त कम्पनीहरुमा छिमेक लघुवित्त, आरएमडिसी लघुवित्त, आरएसडिसी लघुवित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार गर्न पाउनेछ। अन्य समूहमा नेपाल दूरसंचार कम्पनी र होटल तथा पर्यटन समूहको तारागाउँ रिजेन्सी होटलको सेयर पनि नागरिक स्टक डिलरले कारोबार गर्न पाउनेछ।
नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते धितोपत्र व्यापारीको काम संचालन गर्न अनुमति दिएको थियो। धितोपत्र बजारमा अस्वभाविक उतारचढाव आई बजार असन्तुलन देखिएका बेला सन्तुलन कायम गर्नका लागि भूमिका खेल्ने उद्देश्यले स्टक डिलरको परिकल्पना गरिएको हो।
त्यस्तै, तरलता नियन्त्रणका लागि पनि स्टक डिलरले भूमिका खेल्दछ। नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई बढावा दिन र त्यसका लागि संस्थागत लगानीकर्ताको रूपमा काम गर्न पाउने अधिकार स्टक डिलरलाई दिइएको छ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा पनि पुँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो। पुँजी बजारमा अहिले संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको, स-साना लगानीकर्ताको बाहुल्यता रहेको अवस्थामा अस्थिरता देखिने र बजारमा तरलताको अवस्थामा पनि विचलन आउने सम्भावना रहन्छ। त्यस्तो अवस्थामा बजारलाई सन्तुलित बनाउन ठूलो मात्रामा धितोपत्रहरूको खरिद-बिक्री स्टक डिलरमार्फत् हुनेछ।
अधिकृत पुँजी १० अर्ब रुपैयाँ र जारी पुँजी ५ अर्ब रुपैयाँ बराबर रहेको नागरिक स्टक डिलर कम्पनी ऐन, २०६३ बमोजिम २०७६ माघ २९ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।