काठमाडौं- सरकारले केराउ, मरिच, छोकडा र सुपारीको आयातमा लगाएको पूर्ण बन्देज फुकुवा गरी परिमाणात्मक रुपमा आयात गर्न सकिने व्यवस्था गरेको छ। गत वर्ष चैतमा सरकारले यी वस्तुको आयातमा पूर्ण बन्देज लगाएको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै यी वस्तुको आयातमा केही खुकुलो पार्दै कोटा प्रणालीमा आयात गर्न पाउने व्यवस्था गरिएको जानकारी दिएको हो।
राजपत्रमा प्रकाशित सूचनाअनुसार केराउ वार्षिक ८० हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिक टन, छोकडा ५ हजार मेट्रिक टन, र नधुल्याइएको मरिच १५ हजार मेट्रिक टनसम्म आयात गर्न सकिनेछ। धुल्याएको मरिचमा लगाइएको परिमाणात्मक बन्देज भने खारेज गरिएको छ।
गत वर्ष चैतमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको लकडाउनका कारण उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न भन्दै राहत प्याकेज घोषणा गरेको थिए।
गत वर्ष चैत १६ गते सार्वजनिक भएको उक्त राहत कार्यक्रममार्फत् केराउ, मरिच, छोकडा, सुपारी र मदिराजस्ता वस्तुको आयात अर्को व्यवस्था नभएसम्म रोक लगाइएको थियो। यी वस्तुको आयातमा पूर्ण बन्देज लगाउनुको कारण नेपालबाट ठूला मात्रामा बाहिर जाने विदेशी मुद्रा रोक्नु रहेको बताइएको थियो।
यस्तो छ राजपत्रमा प्रकाशित सूचना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।