काठमाडौं– विदेशी नागरिक प्रतिवादी भए ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा अभियुक्तलाई थुनामै राखी मुद्दाको किनारा गर्ने परिपाटी छ। तर, ८८ किलो सुन तस्करी मुद्दामा सर्वोच्च अदालतले उक्त परिपाटी तोड्दै उच्च र जिल्ला अदालतले थुनामै राखेको २ अभियुक्तहरुलाई न्युन धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
४३ करोड बिगो रहेको मुद्दाका अभियुक्तलाई सर्वोच्च अदालतको संयुक्त इजलाशले जनही ५/५ लाख धरौटी बुझाएर साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले यस्तो फैसला सुनाएको हो। सर्वोच्चको अन्तिम फैसलापछि ६ महिनादेखि थुनामा रहेका २ भारतीय नागरिकहरु धरौटीमा रिहा भएका छन्।
सुरुमा ८८ किलो सुन तस्करीमा मुख्य अभियुक्त भनी आरोप लागेका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खेलाई जिल्लाले थुनामा पठाएको थियो। उच्च र जिल्ला अदालतले ८८ किलो सुनका मालिक चिनियाँ नागरिकसँग सिधा सम्बन्ध रहेको र भारत महाराष्ट्र स्थायी ठेगाना भएका विदेशी नागरिक भएकाले पुर्पक्षका लागि थुनामै राखी मुद्दाको किनारा गर्न आदेश गरेको थियो।
धरौटीमा रिहा भएलगत्तै विदेश भाग्ने सम्भावना भएका कारण ३ वर्षभन्दा धेरै कैद हुने मुद्दामा विदेशी नागरिकलाई थुनामा राख्ने अदालती परम्परा रहेको छ। तर सर्वोच्चका न्यायाधीशद्वयले सुन तस्करी र संगठित अपराधमा विपक्षी बनाइएका मगर्ले र र सालुङ्खेलाई सर्वोच्चबाट धरौटी लिई थुनामुक्त गर्न आदेश दिएका हुन्।
रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले भित्र्याइएको ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले भदौ १९ गते गाडीबाट बरामद गरेको थियो।
तस्करी प्रकरणमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले कात्तिक १७ गते ४ जना चिनियाँ नागरिकसहित ११ जनाविरुद्ध संगठित अपराधसहितको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो। अभियुक्तहरु विरुद्ध ५ वर्ष कैद सजाय र ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो। २ महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरुविरुद्ध २ वटा मुद्दा दायर गरेको हो। प्रहरीले सुन बोकेर ल्याउने गाडीका चालकलाई भने निर्दोष ठानेर मुद्दा दायर गरेको थिएन।
उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न अस्विकार गरेपछि उनीहरु बैसाख १० गते सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले गणेश दत्त बडु, मानबहादुर तामाङ र शुभरत्न शाक्यलाई ५/५ लाख, अग्रवाललाई २ लाख तथा ल्याल्जेन लामालाई साधरण तारेखमा छाड्ने आदेश दिएको हो।
प्रहरीले ४ चिनियाँ नागरिकसहित नेपाली नागरिकहरु गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, शुभरत्न शाक्य, नन्दकुमार पाण्डुरंग मगर्ले, मानबहादुर तामाङ, उल्हास दिनकर सालुङ्गे र ल्याक्पा ग्याल्जोङ विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरेका चिनियाँमा याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामा रहेका छन्।
सुन तस्करीको मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।