काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६ दशमलव ९ प्रतिशतले बढाएका छन्। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह १५ दशमलव ६ प्रतिशतले बढाएका थिए।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा तीन स्तरका बैंकमध्ये वाणिज्य बैंकले कर्जा प्रवाह १६ दशमलव २ प्रतिशतले बढाएको छ। त्यस्तै, विकास बैंकले २४ दशमलव ७ प्रतिशत र वित्त कम्पनीले १० प्रतिशत कर्जा प्रवाह बढाएको राष्ट्र बैंकले जनाएको छ।
यता वार्षिक बिन्दु गत आधारमा चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १९ दशमलव ५ प्रतिशतले बढेको छ। चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये कर्जा घरजग्गाको धितोमा ६१.४ प्रतिशत र कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा १४.८ प्रतिशत रहेको छ।
२०७३ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६० दशमलव ८ प्रतिशत र १४ प्रतिशत रहेको थियो।
त्यस्तै ९ महिनाको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७० दशमलव ९ प्रतिशतले बढेर ११० अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३ दशमलव २ प्रतिशतले बढेको थियो।
आन्तरिक कर्जा १२ प्रतिशतले बढ्दा निक्षेप संकलनमा १० प्रतिशतको वृद्धि
चालु आर्थिक वर्षको ९ महिनामा कुल आन्तरिक कर्जा १२ दशमलव ६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९ प्रतिशतले बढेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा यस्तो कर्जा २४ दशमलव ६ प्रतिशतले बढेको छ।
त्यस्तै ९ महिनाको अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १६ दशमलव ८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १५ दशमलव ५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०७४ चैत मसान्तमा १९ दशमलव ३ प्रतिशतले बढेको छ।
यता ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १० दशमलव १ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ८ दशमलब ९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५ दशमलव ३ प्रतिशतले बढेको छ।
२०७४ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलव ७ प्रतिशत, ३५ दशमलव ८ प्रतिशत र ४४ दशमलव ९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७ दशमलव ५ प्रतिशत, ३६ दशमलव ६ प्रतिशत र ४० दशमलव ६ प्रतिशत रहेको थियो।
२०७४ चैतमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६ दशमलव १ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४६ दशमलव ८ प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।