इटहरी- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटमा कोभिड-१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्नेगरी कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।
शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड-१९ का कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति बेहोर्नुपरेको बताए। सरकारले गत वर्षको बजेट तथा मौद्रिक नीतिमार्फत् समेट्न बाँकी क्षेत्रलाई समेट्नेगरी आगामी वर्षको बजेट ल्याउनुपर्ने उनको सुझाव छ।
'गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भए पनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो। तर, यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन। यस वर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्नेखालका थप नीति तथा कार्यक्रमहरु बनाउनु जरुरी छ,' उनले भने।
प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको ढकालले बताए। अझै पनि केन्द्र, प्रदेश तथा स्थानीय तहबाट एकै प्रकारका करहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो करको मारमा परेको उनले बताए।
'नयाँ संविधानको निर्माणसँगै मुलुकमा धेरै हदसम्म शान्ति, स्थिरता र विकासको वातावरण बनेको छ। संघीय संरचनामा स्थानीय तहहरुबीच विकासका लागि हुने प्रतिस्पर्धाले हामीलाई उत्साहित पारेको छ। तर पनि केही पुराना संरचना तथा नीतिका कारण अझै हामीले खोजेजस्तो लगानीको वातावरण बन्न सकेको छैन। यसका लागि महासंघले सरकार तथा सरोकारवाला निकायलाई घचघच्याउने नै छ,' वरिष्ठ उपाध्यक्ष ढकालले भने।
उनले अहिले बजेटको निर्माणको प्रक्रिया सुरु भएकोले यससम्बन्धी हुने छलफलमा निजी क्षेत्रको तर्फबाट आफ्ना अजेन्डाहरु राख्न उद्योगी व्यवसायीलाई आग्रहसमेत गरे।
वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकल अङ्कमा आएको र कोभिड-१९ को प्रकोप पनि विस्तारै कम हुँदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।