काठमाडौं– नेपाल चेम्बर अफ कर्मसका कार्यबाहक अध्यक्ष कमलेशकुमार अग्रवालले व्यापार घाटा गर्न आर्थिक नीति परिमार्जन गर्नु पर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुसँग गरेको भेटघाट कार्यक्रममा उनले व्यवसायी र देश विकासका लागि आर्थिक नीतिहरु समय सापेक्षिक परिमार्जन हुनुपर्ने बताएका हुन्।
‘आर्थिक कानूनहरु बारम्बार परिमार्जन गर्दा पनि प्रतिफल दिन सकेको छैन, व्यवसायीलाई सहज बनाउन सकेको छैन,’ उनले भने, ‘ व्यवसायी र देश विकासका लागि आर्थिक नीतिहरु समय सापेक्षिक परिमार्जन हुनपर्छ।’
उनले राज्यले अनुगमनको नाममा पहिला थुन्ने र अनि सुन्ने गर्नाले निजी क्षेत्रको मनोबल हतोत्साहित भएको आरोपसमेत लगाए।
‘स्वदेशी लगानी प्रवद्र्धन हुन सकेको छैन । सरकार र ब्युरोक्रेसिले निजी क्षेत्रलाई हेर्ने नजर पनि परविर्तन हुनुपर्छ,’ अग्रवालले भने।
कर प्रणाली प्रतिस्पर्धी नबनाउँदासम्म लगानीमैत्री वातावरण नबढनेको उनको भनाइ छ।
‘व्यवसायीलाई विद्युतको दरमा अनुदान दिनु पर्छ, भुटानले दिँदा कति राम्रो औद्योगिक प्रवद्र्धन भइरहेको छ,’ उनले भने, ‘ तर, हामी गफ बढी दिइरहेका छौं। सरकार र व्यवसायीको सहकार्यमा मात्रै देश विकास सम्भव छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।