काठमाडौं-
घटना १:
नियमित जस्तै अफिस हिँड्ने क्रममा राइडर शोभाले पठाओको एप्स अन गरिन्। तत्कालै ‘रिक्वेस्ट’ आइहाल्यो। उनले रिक्वेक्स्ट ‘एसेप्ट’ गरिन्। ग्राण्डी अस्पतालनजिकैको विद्याकुञ्ज स्कूल छेउबाट रिक्वेस्ट पठाउने व्यक्तिलाई फोन गरिन्। र, ती व्यक्तिको ‘लोकेसन’तर्फ मोडिइन्।
‘विद्याकुञ्जको बाँयाबाट मोडिएर चर्च भएको ठाउँमा आउनु भन्नुभयो। चर्च भएको ठाउँमा पुगेर पूरै राउण्ड हानेँ, तर भेटिनँ। फेरि फोन गरेँ। पछि उहाँले मिलनटोलबाट भित्र छिर्नु भन्नुभयो,’ लोकेसन भेट्टाउन भोगेको दु:ख उनले सुनाइन्, ‘सुरूमै सही लोकेसन दिएको भए त्यसरी घुम्नुपर्ने थिएन।’
दुई मिनेटको बाटोमा पाँच-सात मिनेट बितिसकेको थियो। समयमा अफिस पुग्नुपर्ने हतारो पनि उत्तिकै थियो उनलाई।
‘पछि उहाँले भनेको लोकेसनमा पुगेँ। छोरालाई कान्ति अस्पताल लैजानुपर्ने रहेछ। छोराले हत्तपत्त ब्याग स्कुटरमा राखे। तर, जसले बोलाउनुभएको थियो, उहाँ चाहिँ मोबाइल खेलाएर बसिराख्नुभयो,’ शोभाले भनिन्।
ती व्यक्तिले शोभालाई देख्नासाथ अस्वाभाविक व्यवहार देखाए। आफूसँग जान आनाकानी गरेको महसुस शोभाले गरिन्। यद्यपि, ढिला भयो, जाउँ न भन्दै उनले अनुरोध गरिन्। तर, ती व्यक्ति त उठेर घरभित्र पो छिरे। लगत्तै एक महिला बाहिर आएर भनिन्, ‘यस्तो स्कुटर रहेछ! उहाँ जानुहुन्न रे।’
त्यसपछि शोभाले रिक्वेस्ट क्यान्सिल गर्न लगाइन्, र खाली नै फर्किइन्।
घटना २:
शोभा गंगालाल अस्पतालनजिकै थिइन्। त्यहीँ अगाडिको एक रेस्टुरेण्टबाट रिक्वेस्ट आयो। उनले रिक्वेस्ट एसेप्ट गरिन्। फोन गरेर आफू रेस्टुरेण्टको ठीक अपोजिट साइटमा भएको जानकारी दिइन्।
‘उहाँ दुई तला माथि हुनुहुँदो रहेछ। झ्यालको पर्दा हटाएर कहाँ हुनुहुन्छ? भन्नुभयो। मैले हात हल्लाएँ,’ उनले भनिन्।
हात हल्लाएको देखेपछि ती व्यक्तिले शोभालाई चिनिहाले। तर, शोभासँग जान तयार भएनन्।
‘उहाँहरू दुईजना हुनुहुँदो रहेछ। मलाई देख्नेबित्तिकै पछाडिका व्यक्तिले ‘ह्या त्यस्तो स्कुटर रहेछ.. भो नजाने’ भनेको फोनमै सुनियो। उहाँले बोल्दाबोल्दै फोन काट्नुभयो,’ उनले भनिन्।
त्यहाँ पठाओका अरू राइडरहरू पनि थिए। उनीहरूले फेरि फोन गरेर किन क्यान्सिल गरेको भनेर बुझ्न भने। शोभाले फोन गरिन्, तर उठेन।
घटना ३:
लकडाउनअघिकै कुरा हो। विशालबजार अगाडिबाट रिक्वेस्ट आयो। शोभा लोकेसनमा पुगिन्।
‘दिदी, हजुरले बुक गर्नुभएको पठाओ हुँ म भनेँ। उहाँ त वरिपरि घुमेर स्कुटर हेर्न पो थाल्नुभयो। त्यसपछि यस्तो स्कुटरमा जान्न भन्नुभयो,’ शोभाले सुनाइन्।
०००
यी घटना पठाओ राइडर शोभा श्रेष्ठले भोगेकी हुन्। उनी अन्य राइडरभन्दा फरक छिन्। त्यसैले त उनले अरू राइडरले भन्दा धेरै समस्या भोग्नुपर्छ।
शोभा शारीरिक अपांगता भएकी व्यक्ति हुन्। उनी चार पांग्रे स्कुटर चढ्छिन्।
काठमाडौंको धापासीमा बस्दै आएकी शोभा चक्रपथस्थित एक कार्यालयमा काम गर्छिन्। बिहान १० देखि साँझ ५ बजेसम्म अफिसकै काममा व्यस्त हुन्छिन्। त्यसबाहेक सेयर राइडिङ सेवा ‘पठाओ’मा आबद्ध छिन्। बिहान कार्यालय जाँदा र साँझ फर्कंदा ‘प्यासेन्जर’ (यात्रु) भेटिए कम्तीमा पेट्रोल खर्च जुटाउन सकिएला कि भन्ने आशमा उनी पठाओसँग जोडिएकी हुन्।
तर, कहिले पठाओको एप्समा भएको नक्साका कारण त कहिले यात्रुले सही लोकेसन नदिँदा पटक-पटक हैरानी बेहोर्नुपर्छ। लोकेसनमा पुग्दा पनि अपांगता भएकै कारण यात्रुले चढ्न अस्वीकार गर्दा थप पीडा खप्नुपर्छ।
अपांगता भए पनि शोभाले दिने र अन्य राइडरले दिने सेवामा केही फरक छैन। तर, अपांगता भएका व्यक्तिसँग यात्रा गर्न अधिकांश यात्रु तयार हुँदैनन्। विश्वास गर्दैनन्।
शोभाको जस्तै अनुभव...
अपांगता भएका अन्य पठाओ राइडरको अनुभव पनि शोभाको भन्दा फरक छैन। तीनजना अपांगता भएका पठाओ राइडरसँग कुरा गर्दा सबैको साझा आवाज सुनिन्छ, ‘हामीलाई प्रेरणा दिने र लिने दुवैखाले मानिससँग भेट हुन्छ। कतिपयले चार पांग्रे स्कूटर देखेपछि मनमै बिझ्नेगरी भन्छन्। त्यस्तोमा अधिकांश सम्पन्न देखिने र पढेलेखेका व्यक्ति हुन्छन्।’
ललितपुरको नख्खु निवासी पुनम मिश्र (५२) पनि शोभाजस्तै अपांगता भएका पठाओ राइडर हुन्। जन्मिँदै पोलियो रोगबाट ग्रसित भएका उनले भोगेको पीडा कुनै फिल्मको पात्रले भोगेको कथाझैँ लाग्छ। मिश्रको जन्म तत्कालीन शान्त भवन (अहिलेको पाटन अस्पताल)मा भएको थियो। उनलाई पोलियो भएको थाहा पाउनेबित्तिकै अस्पतालमै छाडियो। आठ वर्षसम्म अस्पतालकै एक जना नर्सले पुनमलाई उपचारमा सहयोग गरिन्। पछि उनी अनाथालयमा हुर्किए। उनले बुबाआमा देख्नै पाएनन्। केही समय पुनम बुबाआमाको खोजीमा भौंतारिए पनि। तर, उनले बुबाआमालाई भेट्टाउन सकेनन्।
संघर्ष गर्दागर्दै उनले ‘अब आफैं केही गर्छु’ भन्ने अठोट लिए। नख्खुमै श्रीमतीको सहयोगमा खाजा पसल सुरू गरे।
साथीभाइको सल्लाह र हौसलामा उनी पठाओसँग जोडिए। करिब दुई वर्षदेखि उनी पठाओ चलाइरहेका छन्। भ्याएसम्म र शरीरले साथ दिएसम्म पठाओ चलाउँदै आएको उनले सुनाए।
तर, सेवाग्राही (यात्रु) ले आफूहरूको स्कुटरमा चढ्न गाह्रो मान्ने गरेको पुनम बताउँछन्। ‘रिक्वेस्ट आउँछ, लोकेसनमा पुगेपछि कतिपयले रिक्वेस्ट नै क्यान्सिल गरिदिन्छन्,’ उनले सुनाए।
त्यस्ता सेवाग्राहीलाई पुनमको जवाफ हुन्छ, ‘ठीक छ, धन्यवाद।’
यत्तिकै बस्नुभन्दा केही आम्दानी गर्न पठाओले मौका दिइरहेको उनी बताउँछन्। यद्यपि, पठाओलाई तिर्नुपर्ने २० प्रतिशत रकम घटाउनुपर्ने पुनमको माग छ।
ललितपुरको महालक्ष्मीस्थान बस्दै आएका वेगबहादुर तामाङ पनि पठाओमा जोडिएका छन्। धादिङ घर भएका तामाङ पाटन क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत छन्। पठाओमा जोडिएपछि दैनिक खर्च धान्न केही सहज भएको उनी बताउँछन्। साथीहरूले हाम्रा लागि पनि पठाओ उपयोगी छ भन्ने सुझाव दिएपछि अहिले उनले ‘पार्ट टाइम’का रूपमा पठाओ चलाइरहेका छन्। दिउँसो भने उनी अरू नै काम गर्छन्।
अपांगता भएकै कारण उनले पनि पठाओ राइडिङका क्रममा पटक-पटक अप्ठ्याराहरु ब्यहोरेका छन्। केही शिक्षित वर्गकै मान्छेबाट आफूहरूमाथि नराम्रो व्यवहार हुने गरेको तामाङको गुनासो छ।
‘हामी काम गर्ने मान्छे। केही आम्दानी हुन्छ कि भनेर नै पठाओमा आबद्ध भएका हौं। तर, हाइ लेबलकै मान्छेबाट हुने व्यवहारले हतोत्साहित बनाउँछ,’ तामाङले भने, ‘मेरो समस्या यस्तो छ, गाह्रो हुन्छ जाँदिन भन्दा हामी पनि बुझ्छौं। तर, तपाईंको साधन यस्तो रहेछ, जान्न भन्दा साह्रै नमज्जा लाग्छ।’
यद्यपि, केही यात्रुबाट भने हौसला पाउने गरेको उनले सुनाए।
हौसला दिने यात्रु
उसो त सबैको मानसिकता एकै हुँदैन। अपांगता भएका राइडरलाई हौसला दिने यात्रु पनि भेटिन्छन्।
एकजना यात्रुलाई लिएर जाँदा शोभाले उनीबाट हौसला पाइन्। शोभाको आँट र लगनशीलता देखेर प्रभावित भएका ती व्यक्तिले भने, ‘तपाईंले उदाहरणीय काम गर्दै हुनुहुन्छ। मेरो भाइलाई तपाईंको काम देखाउँछु। दिनरात पब्जीमात्रै खेलेर बिताउने उसलाई केही प्रेरणा मिल्छ कि!’
ती व्यक्तिले शोभालाई आफ्नो घरको गेटनेर उभिन लगाए। तर, घरमा नभएका कारण शोभाको उनका भाइसँग भेट हुन सकेन। ती व्यक्तिको व्यवहारले भने आफ्नो काममा थप दृढ बनेर लाग्न प्रेरित गरेको शोभा बताउँछिन्।
राइडरको चाहना
शोभा, पुनम र वेगबहादुर जस्तै अपांगता भएका अरू पनि राइडर पठाओमा जोडिएका छन्। संख्यात्मक हिसाबमा उनीहरू धेरै छैनन्। तर, उनीहरूले ‘अपांगता भएका व्यक्तिले केही गर्न सक्दैनन्’ भन्ने सोच बदल्न उदाहरणीय काम गरिरहेका छन्। अपांगता भएका व्यक्तिका लागि यी राइडरहरू प्रेरणाको स्रोत बनिरहेका छन्।
पठाओमा जोडिएका अपाङ्गता भएका व्यक्तिहरू सक्षम छन्। तर, उनीहरूसँग जोडिने माथि उल्लेख गरिएका जस्ता विभिन्न घटनाले अपांगता भएका व्यक्तिहरूलाई निराश बनाउने गर्छ। मुलुकको राजधानीमै घट्ने यस्ता घटनाले समाजको चेतनास्तर कुन अवस्थामा छ भन्ने छर्लङ्ग पार्छ।
शोभालाई भेट्न धापासी हाइट पुग्दा उनले कतिपय खुसी र कतिपय आक्रोशका घटना सुनाइन्। कतिबेला खुसीले उनको अनुहार धपक्क देखिन्थ्यो भने क्षणभरमै आक्रोशले कालो। नख्खुमा पुनमलाई भेट्दा र महालक्ष्मीस्थानमा वेगबहादुरलाई भेटेर कुरा गर्दा पनि त्यही अनुभव हुन्थ्यो।
एउटै ‘प्लेटफर्म’मा जोडिए पनि फरक-फरक स्थानबाट संघर्ष गरिरहेका तीन जनाकै चाहना भने एउटै छ- अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन, उनीहरूप्रतिको सोच र व्यवहारमा परिवर्तन।
तस्बिरहरु:निमेषजंग राई/नेपाल लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।