काठमाडौं– माओवादी, विप्लव र जसपाको एकतामा सामेल हुने कि नहुने भन्ने विवादका बीच शुक्रबार बसेको नेकपा एसको सचिवालय बैठक आइतबारका लागि फेरि बस्ने गरी स्थगित भएको छ ।
बैठकमा नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको विषयलाई अहिले एजेण्डा नबनाइने कुरा अध्यक्ष माधवकुमार नेपालले राखेका थिए ।
उक्त पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार एकताका विषयमा एक मत नभएका कारण समान मत निर्माण गर्नका निम्ति निरन्तर छलफल भइरहेको छ ।
‘मुख्य कुरा एकता हुन्छ कि हुँदैन भन्ने हो, भएन भने हाम्रो पार्टी कस्तो बनाउने भन्ने विषयमा छलफल गर्छौं’, उनले भने, ‘एकता हुने भएमा एकता गर्ने दलको स्वरुप कस्तो हुने भन्ने विषयमा त्यहीँ गएर छलफल होला, अहिले हामीले त्यस्तो छलफल चलाएका छैनौं ।’
शुक्रबारको बैठकले वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै निर्वाचनसम्बन्धी कार्योजना निर्माण गर्ने, संगठनात्मक कार्योजना, केन्द्रीय कमिटीको बैठकको मिति तथा एजेण्डा तय गर्ने गरी प्रस्ताव अगाडि सारेको उनले बताए । बैठकको शुरुमै एकता वार्ता समितिको तर्फबाट संयोजक बेदुराम भुसालले रिपोर्टिङ गरेका थिए । उनले माओवादी, विप्लव र जसपासँग वार्ता चलिरहेको बताए ।
ती दलका नेताहरु ‘एकता गर्ने’ कुरामा एकमत छन् । तर, राजनीतिक, वैचारिक र संगठनात्मक कुरा टुंगिन बाँकी रहेको भुसालले बैठकलाई जानकारी गराए । त्यसपछि एकताकै विषयलाई लिएर नेताहरुले आ–आफ्नो मत राखेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।