काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिलानै तयारी गरि लगानी सम्मेलन गर्न सके त्यो बढी फलदायी हुने बताएका छन्। तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ।
‘अब हामीले “रेडिमेड प्रोजेक्ट”सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउनेगरि काम गर्नुपर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन, यो यथार्थ हो।’
महासंघले भारत, चीन लगायतका बाह्य लगानी आउन सक्ने देशका नेपालस्थित दूतावासहरूसँग पनि यस विषयमा छलफल अगाडि बढाएको बताए। 'हाम्रो प्रयास साँच्चिकै परिणाममुखी हुनुपर्छ। महासंघ त्यसको तयारीमा रहेको छ', उनले भने।
मुलुकले अबलम्वन गरेको आर्थिक उदारीकरणको नीतिसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी समेत आएका तर विस्तार भएर जान नसकेका उनको भनाइ छ।
‘नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले प्रोफिट पनि राम्रो गरेका छन् तैपनि थप बाह्य लगानी भित्रन सकेको छैन, समस्या कहाँ छ त्यसको निर्क्योल गर्न सरकार तथा निजी क्षेत्रको एकीकृत प्रयासको खाँचो छ,’ गोल्छाले भने, ‘नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ।’
बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महसुस निजी क्षेत्रले गरेको उनको भनाइ छ।
‘बाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ पनि हो जुन हामी भर्खर त्यसको अभ्यास गर्दैछौं। अर्को एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिवद्धता आवश्यक देखिन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।